काठमाडौं – सत्तारुढ दल नेकपा एमालेभित्र आन्तरिक विवाद उत्कर्षमा पुग्दा नेता माधव नेपाल–झलनाथ खनाल पक्षका नेताहरुलाई कारवाही गर्ने कि नगर्ने भन्नेबारे विवाद उत्पन्न भएपछि स्थगनमा परेको छ ।
आईतवार बालुवाटारमा भएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसअघि बसेको स्थायी कमिटीको बैठकमा नेपाल पक्षका नेताहरुलाई कारवाही गर्ने कि नगर्ने भन्नेबारेमा विवाद उत्पन्न भएपछि ओलीले नै अहिले कारवाहीको विषयमा कुराकानी नगरौं पछि उनीहरुको विषयलाई हेरेर कारवाहीको प्रक्रिया अघि बढाउँला भन्दै स्थगन गरेका हुन् ।
महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटीको बैठकमा कतिपय नेताहरुले कर्णाली प्रदेशजस्तै केन्द्रमा पनि नेपाल पक्षहरु फ्लोर क्रस गर्ने सूचना आएको भन्दै कारवाही गरेर अघि बढ्नुपर्ने बताएका थिए । तर त्यसमा केही नेताहरुले भने सरकार नै ढाल्ने भएपछि र अर्को पार्टी नै गठन गर्ने भए कारवाही गर्नु र नगर्नुको कुनै अर्थ नहुने बताएका थिए ।
‘कर्णालीमा जे समस्या आयो संघमा पनि उनीहरुको तयारी के हुन्छ, उनीहरुले सरकारलाई हुर्ने दृष्टिमा कसलाई समर्थन गर्छन्, त्यहीअनुसार कदम चाल्ने हो अहिलेलाई यो विषय यही स्थगन गरौं,’ ओलीको भनाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने ।
नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीमा समानान्तर गतिविधि गरेको र पार्टी निर्देशन उल्लंघन गरेको, अनुशासनहिन काम गरेको भन्दै बैशाख ६ गते महाधिवेशन आयोजक कमिटीको बैठक राखेर माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए । त्यसमध्ये सबै जनाले स्पष्टीकरण बुझाइसकेका छन् ।
प्रधानमन्त्री ओलीले सांसद पद समेत बाँकी नरहने गरी पार्टीबाट र सांसद पदबाट हटाउने तयारी गरेको भए पनि हाललार्ई स्थगन गरेका हुन् ।
नेकपा एमालेले कर्णाली प्रदेशमा जस्तै अन्य प्रदेशमा समेत फ्लोर क्रस गराउने तयारी भइरहेको भन्दै त्यसको सूचना लिइरहेको जनाएको छ । ओलीले आईतवार आकस्मिक रुपमा महाधिवेशन आयोजक कमिटीको बैठक राखेका थिए । बैठकले कर्णालीमा जस्तै विभिन्न प्रदेशमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेकोबारे समेत छलफल भएको थियो ।
बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले हाम्रै पार्टीभित्रका साथीहरुबाट अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको जानकारी आएको बताएका छन् । ‘कर्णालीजस्तै विभिन्न प्रदेशमा त्यसको तयारी भएको जानकारी पाएका छौं,’ उनले भने ।
ज्ञवालीका अनुसार पार्टीले यो विषयमा गहिरो छलफल गरेर निर्णय लिने बताएका छन् । ‘आज अलिकति स्थितिको हामीले समीक्षा गर्यौं, अहिले अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको सूचना छ कसरी ल्याउने कुरा त धेरै ठूलो कुरा भएन । तर कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रसहरु गराउन पनि प्रयासहरु हुँदै गरेकाबारे हामीलाई जानकारी आएको छ, त्यसका लागि आवश्यक निर्णय पछाडि उपयुक्त समयमा गर्ने नै छौं,’ बैठकपछि ज्ञवालीले भने ।
हिजो आईतवारको बैठकमा नेपाल पक्षका केही नेतालाई कारवाही गर्ने प्रसङ्ग उठको बताउँदै ज्ञावालीले अहिले त्यससम्बन्धी कुनै पनि निर्णय नभएको बताएका छन् ।
गत बुधवार र बिहीवार ओली र नेपालबीच भएको वार्ता असफल भएपछि ओलीले नेपाल पक्षका नेताहरुलाई कारवाही गर्ने चेतावनी दिएका थिए । ओलीले कारवाही प्रक्रिया अघि बढाउने बताइरहेका बेला आईतवारको बैठकमा त्यसबारे निर्णय हुनसक्ने अनुमान गरिएको थियो । यद्यपि त्यसबारे केही निर्णय भएन ।
प्रवक्ता ज्ञवालीका अनुसार आईतवारको बैठकमा कोभिड नियन्त्रणका लागि पार्टी पंक्तिलाई परिचालन निर्णय गरेर टुंग्याइएको थियो । ‘कोभिड रोकथाममा कसरी भूमिका खेल्न सकिन्छ भनेर प्रधानमन्त्रीले चासो राख्नुभयो, अब आयोजक कमिटीको बैठक बस्न गाह्रो छ । गाउँगाउँमा जागरण अभियान चलाउने, स्थानीय तह र जिल्लाको सबै संगठन परिचालित हुनको लागि विशेष कार्यायोजना बनाएर अघि बढ्ने निर्णय भएको छ,’ उनले भने । बैठकले सबै केन्द्रीय सदस्य र मातहतका कमिटीलाई कोरोना नियन्त्रणमा जुट्न निर्देशन दिइएको ज्ञवालीले बताए ।
जिल्ला कमिटी, जनप्रतिनिधि सबैले जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्न, विदेशबाट आएका वा संक्रमणको सम्भाव्य जोखिममा रहेका साथीहरुलाई क्वारेन्टीनमा राख्न, त्यस्तो क्वारेन्टीन बनाउनका निम्ति स्थानीय तहसँग समन्वय गर्न र गाउँगाउँमा जागरण अभियान चलाउन स्थानीय नेता समेत परिचालन गर्न आग्रह गरिएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।