काठमाडौं – सत्तारुढ नेकपा एमालेले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदहरूलाई कारबाही गर्ने भएको छ ।
आईतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने जिम्मेवारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीलाई दिएको छ ।
एमाले स्रोतका अनुसार केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिएको छ । यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकटका २७ सांसदलाई स्पष्टीकरण सोधिएको थियो ।
ती सांसदले सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको खण्डमा फ्लोर क्रस गर्ने भन्ने अनुमानसहित केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गर्दै कारवाहीको जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ ।
कारवाही गरिने सांसदको नाम र सूची टुंग्याउने जिम्मा प्रधानमन्त्री ओली र स्थायी कमिटी सदस्यलाई दिने निर्णय समेत गरिएको छ । एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुन सक्नेबारे सूक्ष्म अध्ययन गर्दै निर्णय लिएको छ ।
परराष्ट्रमन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले ककसलाई कारबाही अघि बढाउने भन्ने प्रस्ताव तयार गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको बताए ।
प्रवक्ता ज्ञवालीले स्पष्टीकरण बुझाएका सांसदबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको बताएका छन् । केन्द्रीय कमिटीको बैठकले हाल कारवाही सम्बन्धी कुनै निर्णय नगरेको ज्ञवालीले बताएका छन् ।
‘सरकारविरुद्ध अविश्वास प्रस्ताव आउन सक्नेदेखि कर्णालीमा जस्तै परिस्थिति दोहोरिन सक्ने सम्भावनाबारे हामी गम्भीर छौं । त्यस्तो परिस्थिति आउन नदिन आवश्यक सबै कदम चाल्नेछौं,’ उनले भने ।
बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्यले आवश्यक परेको बेला निश्चित संख्याका सांसदमाथि कारवाही गर्ने विषयमा वैधानिक बाटो अख्तियार गरिने जनाइएको छ ।
कारवाहीका लागि निर्णय भइसकेको बताउँदै उनले कारवाहीमा पर्नेको संख्या र नामको अन्तिम टुंगो भने पछि लाग्ने बताएका छन् । अकस्मात कारबाही गर्नुपर्ने अवस्था आएको खण्डमा दोहोर्याएर केन्द्रीय सदस्यहरुलाई बोलाउनु नपर्ने गरी आवश्यक तयारी पूरा गरेर आफू फर्किएको उनले बताएका छन् ।
केही शीर्ष नेताबाहेक अरुलाई कारबाही गर्नुभन्दा पनि आफ्ना पक्षमा ल्याउने कसरतमा बालुवाटार सक्रिय रहने जनाइएको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको लडाइँमा सम्पूर्ण रुपमा सक्रिय हुन पार्टी पंक्तिलाई निर्देशन दिए । कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न पार्टीपंक्ति सक्रिय हुनुपर्ने ओलीले बताएका छन् ।
‘प्रधानमन्त्री तथा पार्टी अध्यक्षले एमालेको सबै संरचनाका नेता कार्यकर्तालाई कोभिड–१९ विरुद्धको लडाइँमा सक्रिय रहन निर्देश गर्नुभएको छ । सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जानकारी गराउनुभयो,’ ज्ञवालीले भने । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।