काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किरहेका बेला शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा एउटा खतरनाक सूचना पुग्यो । जुन सूचनामा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनै लागेको बताइएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्तावमा खुलेर हस्ताक्षर गर्ने तथा संसदमा मतदान हुँदा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले समेत सघाएर ओलीलाई पदमुक्त गर्दै नयाँ प्रधानमन्त्री छान्ने तयारीबारे ओलीले थाहा पाए ।
यति थाहा पाएपछि शनिबार राति ११ बजे नै एमाले महाधिवेशन आयोजक कमिटीका सबै सदस्यलाई आईतबार बैठकमा सहभागी हुन एसएमएसबाट निम्तो पठाइयो । मध्यराति अकस्मात बैठकको निम्तो आएपछि एमाले पंक्तिभित्र खैलाबैला मच्चियो ।
आज आईतबार बस्दै गरेको बैठकबाट नेता माधवकुमार नेपाल पक्षका केही सांसदलाई निष्कासन गर्ने तयारी ओलीले गरेका छन् । माधव नेपाल, भीम रावलसहित निलम्बित ४ र अन्य नेतामाथि समेत थप कारवाही हुने लागेको ओली निकट स्रोतले जनाएको छ ।
एमाले नेता माधवकुमार नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिवद्धता जनाएपछि प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना बालुवाटार पुगेको हो ।
आजको बैठकले स्पष्टीकरण सोधिएका सांसदमाथि कारबाही प्रक्रिया अघि बढाउन लागेको समेत जनाइएको छ ।
एमालेको विधानले दललाई तत्कालै कुनै ठूलो हानी हुने अवस्था आएमा सांसदलाई ६ महिनासम्म निलम्बन गर्नसक्ने अधिकार दिएको स्रोतले जनाएको छ ।
यसअघि कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी जोगाउन एमालेका सांसदहरूले पार्टी निर्णय विपरीत मतदान गर्दै फ्लोर क्रस गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।