काठमाडौं – सत्तारुढ नेकपा एमाले भित्रको विवाद झनझन् बढ्दै गइरहेको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको दूरी बढ्दै गएको छ ।
सर्वोच्च अदालत गत फागुन २३ गते गरेको फैसलापश्चात् पूर्ववत अवस्थामा फर्किएको एमालेभित्र एकपछि अर्को विवाद बढ्दै जाँदा पार्टी गम्भीर समस्यामा परेको छ ।
संस्थापन पक्षले बैठक बसेर विभिन्न निर्णय गरेपछि नेता नेपाल पक्षले आपत्ति जनाउँदै आएको छ । नेपाल पक्षले २०७५ जेठ २ गतेकै अवस्थाबाट पार्टी सञ्चालन गर्नुपर्ने अडान लिएको छ ।
ओली र नेपालबीचको आ–आफ्नै अडानले पार्टी २ पक्षमा विभाजित देखिएको छ । एमाले स्रोतका अनुसार दुबै नेताबीच कुनै सहमति नभए पार्टी आधिकारिक रुपमा २ वटा बन्ने पक्का भएको छ ।
ओली सहमति गर्दै नगर्ने, नेपाल झुक्दै नझुक्ने अडानले अन्ततः एमाले फुट्ने निश्चित नै भएको स्रोतले जनाएको छ । ‘एकअर्काको अस्तित्व स्वीकार्नै नसक्ने रोग नेताहरुमा देखिएको छ, जसले एकपछि अर्को समस्या थपेको छ,’ एमालेका एक नेताले भनेका छन् ।
पार्टीभित्र २ धु्रवमा विभाजित नेताहरुबीच २ पटक भेटघाट भएको छ । ओली र नेपालबीच भएको भेटघाटले पार्टी भित्रको विवाद समाधान हुने विश्वास आम नेता–कार्यकर्ताको रहेको थियो । तर दुबै नेता आ–आफ्नै अडानमा रहेकाले पार्टी फुट्ने चिन्ता बढ्दै गएको छ ।
झण्डै ५ महिनादेखिको संवादहिनताको स्थिति तोड्दै ओली र नेपालबीच छलफल भयो । नागपोखरीस्थित होटल मेरियटमा ओली र नेपाल संवादमा जुटेसँगै सिंगो देशकै राजनीतिक माहोल एकाएक तातेको थियो । पछिल्लो समय पानी बाराबारको अवस्थामा पुगेका २ नेता एक्कासि संवादमा जुट्दा एमालेपंक्ति उत्साहित देखिए पनि त्यो धेरै समय टिक्न सकेन ।
एमाले नेता कर्णबहादुर थापाले पार्टी अध्यक्षले सबैलाई मिलाएर अगाडि बढ्न खोजेको बताएका छन् । तर केही नेताको गुटगत माग र व्यवहारले पार्टीलाई विभाजन गर्ने दिशामा अगाडि बढाएको थापाले बताएका छन् ।
‘सबैलाई मिलाएर अगाडि बढ्ने विषयमा पार्टी अध्यक्षले सबैसँग छलफल गर्दै अगाडि बढ्नुभएको छ,’ उनले भने, ‘केही नेताले आफ्नो गुटगत मागमै अडिग भएपछि त्यो सम्भव छैन । हामी सबै मिलेर एमालेलाई बलियो बनाऔं, मिलेरै अगाडि बढौं भन्ने चाहना अध्यक्ष कमरेडको रहेको छ । पार्टीमा अब गुटगत भागबण्डा चल्दैन ।’
सकारात्मक सोचका साथ निलम्बनमा परेका नेताहरुसँग पार्टी अध्यक्षले छलफल समेत गरेको बताउँदै थापाले पार्टीले अब फेरि पनि गुटको माग सम्बोधन गर्न सम्भव नभएको बताए । एमाले धेरै अगाडि बढिसकेको बताउँदै थापाले पछाडि फर्किने अवस्था नरहेको जनाएका छन् ।
एमाले नेता जगन्नाथ खतिवडाले पार्टीभित्र लोकतन्त्र र विधिको शासन सम्पूर्ण रुपमा समाप्त हुँदै गइरहेको आरोप लगाएका छन् । ‘एमाले फुटिसकेको छैन । तर पार्टीको नेतृत्वले एमालेको ठूलो कार्यकर्ताको हिस्सालाई अलग बाटो निर्माण गर्ने दिशातिर धकेल्दै छ,’ खतिवडाले भने ।
आफूलाई नसच्याए पार्टी अध्यक्ष ओलीले ठूलो नोक्सानी व्यहोर्नुपर्ने बताउँदै खतिवडाले समयमै आफ्ना कमीकमजोरी सच्याउन पार्टी अध्यक्षलाई सुझाव दिएका छन् ।
पार्टी अध्यक्ष ओलीले नेता नेपालसँग मात्र नभई ९ औं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष बामदेव गौतमलाई समेत भेटेका छन् । भेटमा ओलीले पार्टीमा फर्किन गरेको आग्रह गौतमले अस्वीकार गर्दै २०७५ जेठ २ गतेकै अवस्थाबाट पार्टीलाई अगाडि बढाउनुपर्ने सुझाव समेत दिएका छन् ।
अध्यक्ष ओलीले एमालेको ९ औं महाधिवेशनबाट निर्वाचित नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीविहीन बनाएपछि एमालेभित्रको विवाद झन् बढ्दै गएको छ । माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताका साथै ओलीले आफू निकटका नेतालाई शुक्रवारको महाधिवेशन आयोजक कमिटीको बैठकबाट जिम्मेवारी बाँडफाँड गरिएको छ । त्यसअघि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेतालाई ओलीले केन्द्रीय कमिटीमा नियुक्त गरेपछि नेता नेपालले आपत्ति जनाएका थिए ।
एमालेको भातृ संगठन अनेमसंघले संगठनलाई समावेशी बनाउन माग गरेको छ । अनेमसंघ सचिव सुजिता शाक्यले स्थायी कमिटीदेखि सबै संगठनलाई समावेशी बनाउन माग गरेकी छन् ।
शुक्रवार बसेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकमा लिखित सुझाव पेश गर्दै शाक्यले तीनै तहको निर्वाचनमा उम्मेदवारी चयनलाई पनि समावेशी बनाउन माग गरेकी हुन् । उनले विविध विषय समेटेर पार्टीलाई ८ बुँदे सुझाव पेश गरेकी छन् ।
प्रस्तावमा स्थायी कमिटीमा महिलाको प्रतिनिधित्व गराउने कुरामा ध्यान दिन आग्रह गरिएको छ । केन्द्रीय महाधिवेशन आयोजक कमिटीमा महिला सदस्य ३३ प्रतिशत पुर्याउनुपर्ने कुरा समेत सुझावमा उल्लेख छ । अनेमसंघले तीनै तहको निर्वाचनमा महिला उम्मेदवार संख्या ३३ प्रतिशत पुर्याउन समेत माग गरेको छ ।
नेकपा एमालेले शुक्रवार गठन गरेको स्थायी कमिटीमा सबै पुरुष मात्रै भएपछि उनले आपत्ति जनाउँदै महिलालाई समावेश गर्न माग गरेकी छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।