काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किरहेका बेला बसेको महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा नेकपा माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई जोगाउन फ्लोर क्रस गरेका नेता माधवकुमार नेपाल पक्षका ४ सांसदलाई पार्टी सदस्यता समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शुक्रबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले दलीय ह्वीप उल्लंघन गर्ने ४ सांसदलाई पदबाट हटाउने निर्णय गरेको जनाइएको छ ।
बैठकबाट कर्णालीमा सहभागी मन्त्री अमर थापा, नन्दसिंह बुढा, कुर्मराज शाही र पूर्वमन्त्री प्रकाश ज्वालाको सांसद पद रिक्त गरिएको छ ।
बैशाख ३ गते कर्णाली प्रदेश सभामा भएको मत विभाजनमा ४ जना सांसदले फ्लोर क्रस गरेका थिए । स्पष्टीकरण सोधिएका केन्द्रका माधव नेपाल पक्षका २७ सांसदबारे हालसम्म कुनै पनि निर्णय नभएको जनाइएको छ ।
एमाले बैठकले १८ सदस्यीय स्थायी कमिटी पनि गठन गरेको छ । जसमा माओवादीबाट एमालेमा आएका नेताहरू रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट लगायतलाई स्थायी कमिटी सदस्य पद उपहार दिइएको छ भने माधवकुमार नेपाल पक्षलाई बाइपास गरिएको छ ।
स्थायी कमिटीमा अध्यक्ष केपी शर्मा ओली, बामदेव गौतम, ईश्वर पोखरेल, बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल लगायत छन् ।
स्थायी कमिटीमा पूर्वसचिव प्रदीप ज्ञवाली, माओवादीबाट एमाले आएका लेखराज भट्ट, टोपबहादुर रायमाझी समेत परेका छन् । नेताहरू सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, किरण गुरुङ, केशव बडाल, मणि थापालाई समेत स्थायी कमिटीमा समावेश गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।