काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किरहेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बामदेव गौतमसँग डिनर मिटिङ गरे । तर ओली र गौतम आ–आफ्नै अडानमा रहँदा कुनै सहमति हुन सकेन ।
ओलीसँग सहमति नभएपछि नेता गौतमले माधवकुमार नेपाललाई फोन गरेर मिलेर जाने सहमति गरेको खुलासा भएको छ ।
आज शुक्रबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता माधवकुमार नेपालले अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय फिर्ता नलिने अडान राखेपछि डिनर छाडेर हिँडेको बामदेव गौतमले आफूलाई फोन गरेर मिलेर जाने कुरा गरेको बताए ।
‘उहाँले फोन गरेर अब पार्टी नबच्ने भन्दै केपी ओलीविरुद्ध उभिनैपर्ने भयो छलफल गर्नुपर्ने भो भन्नुभो,’ बामदेव गौतमले गरेको कुरा सुनाउँदै नेता नेपालले भने । नेता गौतम पार्टीभित्र विवाद चर्किएका बेला कुनै पनि पक्षमा खुलेका थिएनन् ।
नेता नेपालले आफूलाई कसैले पनि पार्टीबाट कारवाही गर्न नसक्ने दाबी गरे । आफू आन्दोलनबाट नभाग्ने र संगठन छाडेर नहिँड्ने समेत उनले बताए ।
पार्टीले सोधेको स्पष्टीकरणबारे नेता नेपालले आफैंले पार्टी परित्याग गरेको, अर्को पार्टी प्रवेश गरेको र संसदीय दलले जारी गरेको ह्वीप नमानेको खण्डमा मात्र संसदबाट हटाउन सकिने तर्क गरे । नेता नेपालले आफूहरूसँग पार्टीमा बहुमत भएपनि ओलीलाई कारबाही नगर्ने बताए ।
‘केपी शर्मा ओलीको दम्भ भर्याङ उक्लेर धरहराभन्दा माथि बसेको छ,’ उनले भने, ‘त्यसैले हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो उहाँ । धरहरा हेरेर उहाँले आफ्नो दम्भ देखाइरहनुभएको थियो ।’
ओलीले फागुन २८ गतेको निर्णय फिर्ता गर्न नमानेका कारण सहमति नभएको नेता नेपालले बताएका छन् । ‘मैथिलीमा भनिन्छ – मन चङ्गा त कठौतीमा गंगा । तर ओलीको मन नै चङ्गा छैन,’ नेपालले भने, ‘मैले भनेको थिएँ बालुवा पेलेर तेल निस्किने बेला छैन । बालुवाटारको बालुवामा तेल छँदै छैन । बामदेवजीले तैपनि पेल्नुस् न एकपटक भनेपछि छलफलमा गयौं । तर बालुवा पेलेर तेल निस्किनेवाला छैन । केपी ओली सुध्रिनेवाला छैन ।’
एमालेभित्र सहमतिको प्रयास गराउँदा समेत कुनै सहमति नहुने भएपछि विवादले नयाँ मोड लिएको छ । अब नेता नेपाल र बामदेव पक्ष मिलेर जाने भएपछि ओलीलाई झड्का लागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।