आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओली र माधव नेपालबीच सहमति नहुनुको यस्तो रहस्य ! एमालेमा झन् तनाव

केपी ओली र माधव नेपालबीच सहमति नहुनुको यस्तो रहस्य ! एमालेमा झन् तनाव

  • मिडिया डबली
  • शुक्रवार, बैशाख १० २०७८

  • 5.6K
    SHARES

  • केपी ओली र माधव नेपालबीच सहमति नहुनुको यस्तो रहस्य ! एमालेमा झन् तनाव

    काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको छलफल विना निष्कर्ष टुंगिएको छ । 

    काठमाडौंको होटेल म्यारियटमा बिहीवार ओली र नेपालबीच ‘वान टु वान’ छलफल भएको थियो । २ नेताबीच बुधवार समेत छलफल भएको थियो ।

    तर दुबै नेता आ–आफ्नै अडानमा अडिग भएपछि कुनै सहमति जुट्न सकेको छैन । जसका कारण विवाद झनझन् बढ्ने देखिएको छ ।

    एमाले उच्च स्रोतका अनुसार छलफलका क्रममा नेता नेपालले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ २ गतेमा फर्किनुपर्ने अडान राखेका थिए । तर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले एमाले धेरै नै अघि बढिसकेकाले पछाडि फर्किन नसकिने अडान राखेका छन् ।

    ‘दुबै नेता आफ्नै अडानमा हुनुहुन्छ । नेकपा एकता हुनुभन्दा अघिल्लो मितिमा फर्किएर पार्टी एकता जोगाउँदै अघि बढनुपर्ने अडानमा वरिष्ठ नेता नेपाल हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘तर अध्यक्ष केपी ओलीले एमाले धेरै नै अघि बढिसकेकाले अब पछाडि फर्किन नसकिने र यही अवस्थामा मिलेर जानुको विकल्प नभएको बताउँदै आउनुभएको छ ।’

    नेपाल सहितका नेताहरुलाई पार्टीबाट ६ महिनाका लागि गरिएको निलम्बनको निर्णयमा पुनर्विचार गर्न सकिने अध्यक्ष ओलीले संकेत गरे पनि शुक्रवार बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी हुनुपर्ने शर्त अघि सारेका छन् । तर नेपालले ओलीको प्रस्ताव अस्वीकार गर्दै जेठ २ गतेमै फर्किनुपर्ने आफ्नो पुरानै अडान दोहोर्‍याएका छन् ।

    ‘तपाईंहरू शुक्रवारको बैठकमा आउनुभयो भने यसअघि मैले ६ महिनाका लागि पार्टीबाट गरिएको निलम्ब फुकुवा गर्छु,’ छलफलमा ओलीले भने । तर नेता नेपालले ओलीको प्रस्ताव अस्वीकार गर्दै जेठ २ गतेको अवस्थामा नफर्किंदासम्म आफूहरु बैठकमा आउन नसक्ने बताएका छन् ।

    फागुन २८ गतेको निर्णयबाट आफू ‘ब्याक’ हुन नसक्ने ओलीले नेपाललाई जवाफ दिएका छन् । जिल्ला–जिल्लाका साथै भातृ संगठनहरुमा ओली र नेपाल दुबै पक्षले गठन गरेको समानान्तर कमिटी विघटन नगर्ने अडानमा रहेका छन् ।

    छलफलपछि नेता नेपालले सञ्चारकर्मीलाई कुनै ठोस सहमति नभएको बताए । ‘अहिले विवाद समाधानका विषयमा कुनै ठोस सहमति र प्रगति भएको छैन । अर्को बैठक पुनः बस्ने गरी छुट्टिएका छौं,’ नेपालले भने ।

    गत फागुन २३ गते सर्वोच्चको फैसालपछि नेकपा एमाले २०७५ जेठ २ गतेकै अवस्थामा फर्किएको थियो । तर फागुन २८ गते माधव नेपाल सहितका नेताहरुलाई संस्थापन पक्षले बैठक बसेर कारवाही गरेपछि पार्टी भित्रको विवाद बढेको छ । पार्टी हित विपरीतका गतिविधिमा संलग्न रहेको भन्दै ओली पक्षले नेपालमाथि कारबाही गरेको छ ।

    पार्टी अध्यक्ष ओलीले सांसद पदबाट कारबाही गर्ने गरी स्पष्टीकरण सोधेपछि नेपाल पक्ष सर्वोच्च अदालत पुगेको छ । अध्यक्ष ओलीले ६ महिनाका लागि निलम्बन गरेका नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका तर्फबाट तिलकबहादुर थापाले दायर गरेको रिटमा मुख्यतः पार्टी २०७५ जेठ २ गतेकै अवस्थामा फर्किनुपर्ने माग गरिएको छ ।

    सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपा एकता भंग गरेर जेठ ३ (एमाले–माओवादी एकता) अघिको पूर्वावस्थामा फर्काएकाले त्यसअघि पछाडि अध्यक्ष ओलीले गरेका एकलौटी निर्णय बदर हुनुपर्ने माग गरिएको छ ।

    सर्वोच्चको फैसलापछि फागुन २८ गते माओवादी छाडेकालाई समेटेर अध्यक्ष ओलीले एकलौटी रुपमा गरेको केन्द्रीय कमिटी विस्तार भंगदेखि त्यसअघिका स्पष्टीकरण, विधान संशोधन, महाधिवेशन आयोजक कमिटी लगायत सबै गतिविधि बदर गर्न नेपाल पक्षले रिटमा माग गरेको छ ।

    निवेदनमा अबको बैठकबाट ओलीले विधानविपरीत सांसद पदबाट हटाउने गरी कारबाही गर्नसक्ने भन्दै संसद सचिवालय र सभामुखका नाममा परमादेश जारी गर्न समेत माग गरिएको छ ।

    निवेदनमा निर्वाचन आयोग, अध्यक्ष ओली, प्रतिनिधि सभाका सभामुख, संघीय संसद सचिवालय र महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललाई विपक्षी बनाइएको छ ।

    नेकपा एमाले नेता नेपाल पक्षले पार्टी अध्यक्ष ओलीले आफूहरूलाई पार्टीमा रहन नदिने अनेक दाउपेच गरेको आरोप लगाएका छन् । ७२ औं पार्टी स्थापना दिवसको सन्दर्भमा बिहीवार एक अपिल जारी गर्दै नेपाल पक्षले आफूहरुलाई एमालेमा रहन नदिन अनेक दाउपेच गरिएको उल्लेख गरे ।

    फागुन २८ गते गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटी बैठक मान्ने कुराले त्यही देखाउँछ भन्दै अपिलमा नेपाल पक्षले आफूहरुले पार्टी एकता जोगाउन चाहेको उल्लेख गरेका छन् ।

    अपिलमा एमालेको एकता बचाऔं, कम्युुनिस्ट आन्दोलनको रक्षा गरौं भनिएको छ । फागुन २८ र त्यसपछि भएका कथित बैठक र तिनका अवैध निर्णय सबै रद्द गरिनुपर्ने माग गर्दै अपिलमा २०७५ जेठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्णबैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने उल्लेख छ ।

    ‘यसबाट मात्र एमालेको एकता जोगिन्छ, एकता जोगाउन सकियो भने नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ,’ अपिलमा उल्लेख छ । यस्तो सामान्य प्रस्तावलाई स्वीकार नगर्नु नै ओली पार्टी विभाजनमा लागेको प्रमाणित भएको आरोप समेत लगाइएको छ ।

    नेपाल पक्षले गरेको अपिलमा पछिल्लो समय ओलीले चालेका कदम एमाले विभाजन हुनुका साथै कम्युनिस्ट आन्दोलन बिसर्जनको दिशामा रहेको उल्लेख छ । नेता नेपालसहित झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमालले संयुक्त अपिल जारी गरेका हुन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend