काठमाडौं - प्रधानमन्त्री केपी ओली र माधव नेपालबीच बुधबार साँझ भएको दुई घन्टा लामो वार्तापछि एमालेमा देखिएको ठूलो संकट तत्काललाई टरेको अनुमान गरिएको छ । यसको संकेत एमाले अध्यक्ष ओलीले नै गरेका छन् ।
ओलीले पार्टीलाई कुनै क्षति नहोस् भनेर आफूले सम्झाइ बुझाइ गरेको र त्यसलाई कमजोरीको रूपमा नलिन बताएका छन् । बिहीबार विहान बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्नो प्रयास अहिले पनि पार्टीलाई क्षति नहोस भनेर सम्झाई–बुझाई गर्नेमा केन्द्रित रहेको भन्दै अनुशासित भएर पार्टीमा काम गर्न आह्वानसमेत गरे ।
समूहगत रुपमा कुनै पनि सम्झौता नहुने र संवादको आफ्नो प्रयासलाई कमजोरी नठान्न माधव नेपाल पक्षलाई चेतावनी दिएका छन् । ओलीले कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोज्छ भने अब एमालेमा त्यो सम्भव नरहेको प्रष्ट पारे ।
‘अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ । अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेका छौं,’ ओलीले भने, ‘यसलाई कमजोरी ठानिन्छ भने र गुटको आधारमा गतिविधि गर्न खोज्छ भने त्यो अब सम्भव छैन,’ ओलीले भने ।
यसैबीच, माधव नेपाल पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष लीसँग बुधबार साँझ दुई घण्टा छलफल गरेका नेता नेपालले अहिले आफूनिकट नेताहरूसँग परामर्श गर्दैछन् । ओलीले शुक्रवार बस्ने केन्द्रीय कमिटी बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न नेपाललाई आग्रह गरेका छन् ।
नेता नेपालले भने आफ्नो टिममा छलफल गरेपछिमात्र थप कुराकानी गर्ने बताएका थिए । आज आफू पक्षधर नेताहरूलाई ओलीसँगको वार्ताको ब्रिफिङ गर्दैछन् । नेपाल र ओलीबीच आज पनि छलफल हुने बताइएको छ ।
नेपाल पक्षधर नेताहरूसँग ओलीले व्यक्तिगत सम्पर्क गरिरहेका छन् । ओलीनिकट नेताहरूले पनि भोलिको बैठकमा आउन आग्रह गरिरहेको एक नेताले बताए । नेपाल पक्षधर नेताहरूबीचमै पनि बैठकमै गएर कुरा राख्ने कि समानान्तर गतिविधि अघि बढाउने भन्ने मतान्तर छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।