आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उपनिर्वाचन गराउन किन डराउँदैछ सरकार ?

उपनिर्वाचन गराउन किन डराउँदैछ सरकार ?

  • मिडिया डबली
  • बिहिवार, बैशाख ९ २०७८

  • 5.9K
    SHARES

  • उपनिर्वाचन गराउन किन डराउँदैछ सरकार ?

    काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त १ सदस्यको पदमा जेठको दोस्रो हप्ता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेपनि सरकारले मिति तोक्न सकेको छैन ।

    आयोगले सरकारसँगको अनौपचारिक छलफलका क्रममा जेठ दोस्रो हप्ता राष्ट्रिय सभातर्फको रिक्त पदका लागि उपनिर्वाचन गर्न प्रस्ताव गरेको हो तर सरकारले आयोगको प्रस्तावलाई सुनेको छैन ।

    प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका रिक्त पदमा पनि उपनिर्वाचन कहिले हुने टुंगो छैन । आयोगले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर उपनिर्वाचनका लागि तयार रहेको सन्देश दिइसकेको छ । आयोगका एक आयुक्तले उपनिर्वाचन हुन्छ कि जस्तो भएको तर हुने अवस्था नरहेको बताएका छन् ।

    ‘उपनिर्वाचन गर्न आयोग तयार छ, निर्वाचन हुन्छ कि जस्तो हुन्छ तर हुने वातावरण बनेको छैन, प्रधानमन्त्रीज्यूलाई थोरै संख्यामा भए ६० दिनमा सक्छौं भनेका छौं, संख्या बढ्ने क्रम जारी छ,’ आयोगका एक जना आयुक्तले भने ।

    प्रतिनिधि र प्रदेश सभाको हकमा ६ महिनाभन्दा बढी कार्यकाल बाँकी रहेको अवस्थामा रिक्त पदपूर्ति गर्न उपनिर्वाचन गर्न सकिने कानूनी व्यवस्था छ । तर रिक्त रहेको कुन अवधिसम्म गर्ने भन्ने प्रस्ट छैन ।

    निर्वाचन कानूनअनुसार राष्ट्रिय सभातर्फको निर्वाचनको मिति आयोगसँगको परामर्शमा सरकारले तोक्ने र प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मिति सरकारसँगको परामर्शमा आयोगले तोक्ने व्यवस्था छ तर पछिल्ला समय सरकारबाटै मिति तोक्ने काम हुँदै आइरहेको छ ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधवारसम्म राष्ट्रिय सभातर्फ १ सदस्यको पद रिक्त रहेको जानकारी संसद सचिवालयबाट आयोगलाई प्राप्त भएको बताए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद राष्ट्रिय सभामा खाली भएको थियो ।

    राष्ट्रिय सभाको रिक्त पदमा ३५ दिनभित्र निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ तर आयोगलाई संसद सचिवालयबाट औपचारिक जानकारी प्राप्त भएको ३५ दिन कि निर्वाचन मिति तोकिएको ३५ दिन भन्नेबारे कानूनमा प्रस्ट नभएको आयोगका अधिकारी बताउँछन् । त्यसले गर्दा समेत उपनिर्वाचन कहिले हुने भन्ने अन्योलता देखिएको छ ।

    आयोगले हालसम्म प्रतिनिधि सभातर्फ ४ सांसदको पद रिक्त रहेको सूचना दिएको छ । प्रतिनिधि सभातर्फ लेखराज भट्ट, प्रभू साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीको पद रिक्त रहेको छ । उनीहरु माओवादी केन्द्रबाट प्रतिनिधि सभामा सांसद बनेका थिए ।

    प्रदेश सभातर्फ १२ पद रिक्त रहेको जानकारी आयोगले पाएको छ । स्थानीय तहतर्फ ४८ पद रिक्त रहेको आयोगले बताएको छ । प्रदेश सभातर्फ १ नम्बर प्रदेशका टंक आंबुहाङ, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीका साथै कर्णाली प्रदेशका धर्मराज रेग्मीको स्थान रिक्त छ ।

    प्रदेश २ मा प्रदेशसभा सदस्य रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई माओवादी केन्द्रले कारवाही गरेपछि स्थान रिक्त छ ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गर्ने प्रकाश जवाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पनि नेकपा एमालेले कारवाही गरेपछि पद समेत रिक्त भएको छ ।

    प्रतिनिधि र प्रदेश सभाको हकमा ६ महिनाभन्दा बढी कार्यकाल बाँकी रहेको अवस्थामा रिक्त पद पूर्ति गर्न उपनिर्वाचन गर्न सकिने कानूनी व्यवस्था छ तर रिक्त रहेको कुन अवधिसम्म गर्ने भन्ने प्रष्ट भइसकेको छैन ।

    आयोगले उपनिर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा र देशभरका स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको विवरण माग गर्दै केही दिनअघि पत्र पठाइसकेको छ ।

    ‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐनबमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ,’ राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ६१ मा उल्लेख छ ।

    गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा रहेका मुख्य दलका नेतासहित बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा भने प्रतिनिधि सभातर्फ रिक्त रहेका पदमा उपनिर्वाचन गर्नेबारे छलफल गरेका थिए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २९ २०७७०५:५८:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend