काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भइरहेको भेटवार्ता सकिएको छ ।
बुधवार साँझ अकस्मात नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको छ ।
भेटवार्तापछि बाहिरिँदै गर्दा नेता नेपालले ‘अहिले केही बोल्दिनँ’ भनेर टाप कसेका छन् । भेटवार्ताबारे कुनै आधिकारिक जानकारी दिइएन ।
प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडले भेटवार्तामा राम्रो संकेत देखिएको बताएका छन् । होटलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै दुगडले नेताहरू तनावरहित देखिएका बताए ।
फागुन २३ गते सर्वोच्च अदालतको फैसलासँगै नेकपा एमाले ब्युँतिएपछि पार्टीभित्रको विवाद चर्किएको छ । एमाले ब्युँतिएपछि अध्यक्ष ओलीले फागुन २८ गते माओवादी केन्द्र छाडेर आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेका थिए ।
विवाद चिर्किंदै गएका बेला अध्यक्ष ओलीले माधव नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन समेत गरेका छन् भने नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।