काठमाडौं – नेकपा माओवादी केन्द्रले नयाँ सरकार बनाउने छलफललाई निष्कर्षमा पुर्याउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार निरंकुश भएकाले विकल्प दिने निर्णय गरेको छ ।
माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान विपरीत काम गरिरहेको प्रतिगामी सरकारलाई हटाएर लोकतन्त्र पक्षधर शक्तिको सरकार बनाउने सन्दर्भमा भइरहेको वार्ता र संवादलाई निरन्तरता दिएर निष्कर्षमा पुग्ने निर्णय भएको बताए ।
कोरोना संक्रमणको दोस्रो लहरले तीब्र रुप लिन थालेकाले पार्टीका सबै कमिटीले जनचेतना र समन्वयमा सहभागी हुन माओवादीले निर्देशन गरेको छ ।
सरकारले हठात् प्रतिनिधिसभा अधिवेशन अन्त्य गरेकोप्रति समेत माओवादी बैठकले आपत्ति जनाएको छ । संसदको बैठकलाई प्रभावकारी र उपलब्धिमूलक बनाउनुपर्नेमा अधिवेशन अन्त्य गर्नु अलोकतान्त्रिक भएको बैठकले निर्णय गरेको छ ।
भोलि बुधबार दिउँसो १ बजे बस्ने बैठकमा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।