काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद नै बर्खास्त गर्ने योजनासहित पार्टीका ३२ नेतालाई स्पष्टीकरण सोधेपछि आकस्मिक बैठक बोलाइएको छ ।
एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आकस्मिक बैठक बोलाएको हो । नयाँ बानेश्वरस्थित अर्याल होटेल आकस्मिक बैठक सुरु भएको नेता भीम रावलले जानकारी दिए ।
कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनालसहित २७ जना संघीय सांसद र ५ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको छ ।
नेपाली कांग्रेसको नेतृत्वमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहँदा नेपाल पक्षले ‘फ्लोर क्रस’ गर्न सक्ने भन्दै एमालेले २७ सांसदलाई स्पष्टीकरण सोधेको छ । नेपाल पक्षले यसअघि कर्णाली प्रदेशमा फ्लोर क्रस गरिसकेको छ ।
नेकपा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले नेपाल पक्षका सांसदलाई स्पष्टीकरण पत्र पठाइसकिएको बताएका छन् ।
स्पष्टीकरण पत्रमा ‘तपाईलाई संघीय संसद् सदस्यबाट किन नहटाउने ?’ भनेर सोधिएकाले एमालेभित्र खैलाबैला मच्चिएको छ ।
स्पष्टीकरण सोधिएका नेताहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सोमप्रसाद पाण्डे, सुरेन्द्र पाण्डे, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, झपट रावल, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, भवानी खापुङ, नारायण खतिवडा, रामकुमारी झाँक्री, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी, लक्ष्मीकुमारी चौधरी, पुष्पाकुमारी कर्ण कायस्थ, निरादेवी जैरु, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरलाकुमारी यादव, कृष्णलाल महर्जन रहेका छन् ।
हिजो सोमवार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न लगाउने नेता नेपालसहित ४ जना र फ्लोर क्रस गर्ने ४ सांसदलाई अन्तिम चेतावनियुक्त स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।