काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पेलेपछि माधवकुमार नेपाल पक्ष फेरि निर्वाचन आयोगको शरणमा पुगेको छ ।
यसअघि नेकपा एकीकृत हुँदा समेत नेता नेपाल पक्षले ओलीका निर्णय खारेज गर्न माग गर्दै आयोगको निवेदन दिएको थियो ।
अध्यक्ष ओलीले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला विपरीत निर्णय गरेको भन्दै नेपाल पक्षका नेताद्वय बेदुराम भुसाल र राजेन्द्र पाण्डे नेता नेपाल पक्षको निवेदन बोकेर आयोग पुगेका हुन् ।
‘अहिलेको केपी ओलीको सबै संगठन अवैध छ, बैठक अवैध छ र निर्णय पनि अवैध छ । त्यो सबै खारेज हुनुपर्छ भनेर निर्वाचन आयोग गरेका छौं,’ काभ्रेमा एमालेको समानान्तर जिल्ला कमिटी घोषणा गर्दै नेता नेपालले भने, ‘अब हेर्नु छ निर्वाचन आयोगले कानून बमोजिम काम गर्छ कि गर्दैन ?’
निर्वाचन आयोगले संवैधानिक निकायको मर्यादा अनुरूप काम गर्छ कि कार्यपालिका प्रमुख केपी शर्मा ओलीको दबाबमा थरथर हुन्छ भनेर हेर्नुपर्ने उनले बताए । उनले ओलीको ओरालो लाग्ने क्रम सुरू भइसकेको भन्दै नडराउन आयोगलाई आग्रह गरेका छन् ।
एमाले अध्यक्ष ओलीले गुटका नेतालाई मात्र राखेर फागुन २८ गते गरेको निर्णय अवैध भएको भन्दै नेपाल पक्ष यसअघि समेत आयोगमा गएको थियो । तर आयोगले कुनै निर्णय नसुनाउँदै नेपाल पक्षले अर्को निवेदन दिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।