काठमाडौं – निर्वाचन आयोगले अब ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने भएको छ ।
नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’को राष्ट्रियसभा सदस्य पद खारेज भएपछि ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने भएको हो ।
राष्ट्रियसभा सदस्य पद रिक्त भएको स्थानमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।
राष्ट्रियसभा निर्वाचन ऐन २०७५ मा पदावधि ६ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रियसभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले उपचुनाव गराउनुपर्ने व्यवस्था रहेको छ ।
ऐनको दफा ६१ मा भनिएको छ, ‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ ।’
फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरेपछि माओवादी नेता थापा नेकपा एमालेमा प्रवेश गरेका थिए । माओवादीले थापालाई स्पष्टीकरण सोधेकोमा अहिले कारवाही गरेर पदमुक्त गरेको छ ।
थापा २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भएर बाग्मती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।