काठमाडौं – नेकपा एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मुख्यमन्त्री हटाउने गरी प्रदेशहरूमा गठबन्धन बन्ने क्रम शुरू भएपछि शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) भित्रको पूर्व राजपा धारलाई तान्न सक्रियता बढाएको देखिएको छ ।
जसपाले राखेका माग सम्बोधन गर्न ओली लचिलो समेत बनेका छन् ।
जसपा स्रोतका अनुसार निलम्बित सांसद रेशम चौधरीलाई अदालती प्रक्रिया र अन्य नेता–कार्यकर्तालाई ‘फास्ट ट्रयाक’बाट रिहा गर्न प्रधानमन्त्री ओलीले चाहेका छन् । ओलीले सरकारलाई समर्थन जनाउन समेत आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले बिहान दुबै पक्षका कार्यदल सदस्य समेतको सहभागितामा जसपा अध्यक्ष महन्थ ठाकुरसँग संवाद गरेका छन् । वरिष्ठ नेता राजेन्द्र महतो गृहजिल्लामा रहेकाले बैठकमा सहभागी भएका थिएनन् ।
मधेश र थरुहट आन्दोलनका क्रममा पक्राउ परेका र फरार सूचीमा रहेका २०० भन्दा बढी नेता–कार्यकर्ताविरुद्ध मुद्दा रहेका जसपाको कार्यदल सदस्य समेत रहेका नेता लक्ष्मणलाल कर्णले बताएका छन् । कर्णका अनुसार सांसद चौधरीका अतिरिक्त नेता–कार्यकर्ताविरुद्ध लागेका २० वटा मुद्दा फिर्ता प्रक्रिया अघि बढाउन सरकार सकारात्मक देखिएको छ ।
‘वार्ता सकारात्मक छ, हामीले परिणाम खोजेका छौं, परिणाम नआएसम्म यसै भन्न सकिँदैन,’ उनले भने, ‘परिणाममा सम्बोधन भएपछि मात्रै विश्वास गर्न सकिन्छ ।’
ठाकुरसँगको वार्तामा प्रधानमन्त्री ओलीले मुद्दा सम्बोधनको प्रक्रिया धेरै अघि बढिसकेको जानकारी गराउँदै सरकारलाई लिखित रूपमा समर्थन दिन आग्रह गरेका थिए । ठाकुरले परिणाममा काम देखिएपछि पार्टीभित्र छलफल गरेर निर्णय लिन सहज हुने भनाइ राखेको स्रोतले बतायो ।
ठाकुरसँगको छलफलपछि बेलुका बालुवाटारमा दुवै पक्षका कार्यदल सदस्यहरूको बैठक भएको थियो । कार्यदल सदस्य समेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री ओलीले जसपा नेताहरुसँग सरकारलाई समर्थन दिन आग्रह गरेको भनाइ सत्य नभएको दाबी गरेका छन् ।
‘प्रधानमन्त्रीसँग र कार्यदलस्तरमा समेत भएका छलफल जसपाले उठाएका मुद्दामा केन्द्रित छ,’ नेम्वाङले भने, ‘छलफल सकारात्मक भइरहेको छ, टुंगोमा पुगिसकेका छैनौं ।’
जसपाले नेता–कार्यकर्ताको रिहाइ तथा मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता विधेयक र मधेश आन्दोलनबारे गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेको छ । यीमध्ये सरकारी प्रक्रियाबाट हुनसक्ने माग तत्काल पूरा गर्न जसपा नेताहरुले आग्रह गर्दै आएका छन् । अहिले भइरहेको कसरत नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको विषयमा केन्द्रित रहेको छ ।
सरकारी प्रक्रियामा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सहितको पूर्व समाजवादी पक्ष सामेल देखिएको छैन । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।