काठमाडौं – नेकपा एमाले नेतृत्वको सरकार र जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यदलबीच बालुवाटारमा छलफल सकिएको छ ।
छलफलमा सरकारको तर्फबाट मुद्दा फिर्ता र बन्दी रिहाको सम्बन्धमा गरिरहेको कार्यबारे जानकारी गराइएको छ ।
जसपा नेपालले गत चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहा गर्न माग गर्दै गृह मन्त्रालयमा बुझाएको फाइलको प्रगतिबारे छलफल भएको छ ।
गृह मन्त्रालयले जसपाको माग अनुसार काम अगाडि बढाएको जानकारी दिइएको छ । जसपाले बुझाएको फाइलबारे गृह मन्त्रालयले अध्ययन थालिसकेको र चाँडै नै जिल्ला–जिल्लामा सर्कुलर पठाएर बन्दी रिहा गर्ने प्रक्रिया थाल्ने सरकारको तर्फबाट गठन भएको कार्यदलले जानकारी दिएको जसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले बताएका छन् ।
जसपाको तर्फबाट गठित कार्यदलका सदस्य कर्णले सरकारले मुद्दा फिर्ता र बन्दी रिहा गर्ने प्रक्रिया अगाडि बढाएको र आफूले छिटो गर्न आग्रह गरेको जानकारी दिए । सरकारले प्रक्रिया सुरू गरेका कारण जसपा सकारात्मक रहेको तर काम नभएसम्म ढुक्क हुने अवस्था नरहेको भन्दै उनले शंका व्यक्त गरे । सरकारी टोलीको कुरा सुनेर जसपा नेताहरू खुसी भएका स्रोतले जनाएको छ ।
सरकारलाई समर्थन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहबारे जिज्ञासा राख्दा नेता कर्णले प्रधानमन्त्री ओलीबाट समर्थनको आग्रह सधै आउने गरेको जानकारी दिए । ‘प्रधानमन्त्री ओलीले आज मात्र होइन, सरकारलाई समर्थन गर्न, सरकारमा आउन सधैं आग्रह गर्दै आउनुभएको छ, हामीले हाम्रो माग पूरा भएपछि मात्र त्यसको बारेमा निर्णय लिने भन्दै आएका छौं,’ कर्णले भने ।
सरकारलाई समर्थन गर्ने निर्णय एउटा व्यक्तिले लिन नसक्ने भन्दै पार्टीमा छलफल हुन बाँकी रहेको कुरा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको उनले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।