काठमाडौं – नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन राष्ट्रिय जनमोर्चा (राजमो) ले फिर्ता लिएसँगै एमालेको प्रदेश सरकार ढलेको हो ।
गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय सार्वजनिक गर्न वक्तव्य सार्वजनिक गर्दै राजमो अध्यक्ष चित्रबहादुर केसीले गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमा समर्थन गर्ने जनाएका छन् ।
यसअघि नेकपा माओवादी केन्द्रले समेत समर्थन फिर्ता लिइसकेको छ । गण्डकीमा एमालेको एकल बहुमत छैन । एमालेलाई सरकार टिकाउन नेपाली कांग्रेस, माओवादी वा राजमोको समर्थन चाहिने भएपनि कुनै पनि दलले समर्थन नदिने स्पष्ट भइसकेको छ ।
राजमोले समेत एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई समर्थन नदिने निर्णय गरिसकेको छ । सरकारविरुद्ध प्रतिपक्षले ल्याउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको राजमोले एमालेलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मुख्यमन्त्री गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काम गरिरहेको आरोप लगाउँदै राजमोले प्रतिगमनलाई मद्दत पुर्याउने सरकारलाई समर्थन नगर्ने र मुख्यमन्त्री गुरुङलाई हटाउने प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।
वक्तव्यमा उल्लेख छ, ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरूले पनि प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ ।’
राजमो वामपन्थीको पक्षमा रहेकाले हालसम्म सरकारको समर्थन गरिरहेको तर नेकपा माओवादीले समर्थन फिर्ता लिइसकेपछि एमाले एक्लैको सरकार भएकाले समर्थन गर्न नसकिने राजमोले जनाएको छ ।
मुख्यमन्त्रीबाट गुरुङलाई हटाएपछि बन्ने नयाँ सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागी नहुने समेत राजमोले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।