काठमाडौं – नेकपा एमाले संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर कमिटी गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षसँग एकताको सम्भावना करीब–करीब सकिएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ ।
पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल पक्षका पछिल्ला अभिव्यक्ति र गतिविधिले गर्दा एकता कायम राख्नुको औचित्य नभएको र त्यसको सम्भावना पनि टरेको निष्कर्ष ओली पक्षले निकालेको छ ।
‘माधव नेपालले पछिल्लो समयमा जुन अभिव्यक्ति दिनुभएको छ, त्यसले पार्टी एकता कायम रहन्छ भन्ने सोच्न पनि सकिन्न, उहाँकै कारण हजारौं नेता कार्यकर्ताको राजनीतिक भविष्य अन्योलमा पर्दैछ,’ ओली पक्षका एक प्रभावशाली नेताले भने । उनका अनुसार पार्टी एकताको पक्षमा धेरै काम गरिएपनि नेपाल पक्षका नेताले पछिल्ला दिनमा जेजस्ता गतिविधि गरेका छन्, त्यो बिल्कुलै पार्टी हितविपरीत भएकाले अध्यक्ष ओलीले आन्तरिक छलफलमा सहकार्य असम्भवजस्तै रहेको बताउन थालेका छन् । यसबाट एमाले मिलाउनुपर्छ भनेर लागेका दुबै पक्षका सम्पर्क सूत्र पनि निराश बनेका छन् ।’
‘माधव नेपाल र केपी शर्मा ओली मिलेमा कम्युनिस्ट आन्दोलनले एउटा उचाइ लिन्छ, त्यसका लागि पहिलो चरणमा एमाले एकताबद्ध हुनु आवश्यक छ,’ बालुवाटार र कोटेश्वरबीच सम्पर्क सूत्रको काम गरिरहेका एक नेताले भनेका छन् । एकताका लागि गरिएका कोसिस असफल हुँदै गएपछि दुबैतिरका सम्पर्क सूत्र २–३ दिनयता निराश देखिएका छन् । नेपाल पक्षले समानान्तर कमिटी बनाउन थालेपछि उनी पक्षका र ओली पक्षका अत्यन्त विश्वास पात्रको रुपमा रहेका नेताहरुले दुबैतिर सम्पर्क सूत्रको काम गर्दै आएका थिए ।
एमाले भित्रको विवाद विदेशमा रहेका पार्टी कमिटीमा पनि देखिएको छ । खनाल–नेपाल पक्षले मुलुकभित्र मात्र नभई विभिन्न १३ देशमा समानान्तर कमिटी घोषणा गरिसकेको छ । खनाल–नेपाल पक्षले मुलुकका ६७ जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ ।
खनाल–नेपाल पक्षले पार्टी संस्थापन पक्षलाई चुनौती दिन थालेपछि अध्यक्ष ओली पक्ष पनि आक्रामक बन्दै गएको छ । नेकपा एमाले नेता नेपालले मंगलवार भर्चुअल कार्यक्रममार्फत विभिन्न १३ मुलुकमा समानान्तर कमिटी घोषणा गरेका छन् । तराई–मधेशमा समेत नेपाल स्वयंले संगठन निर्माण गर्दै जिल्ला कमिटी घोषणा गरिरहेका छन् ।
‘नेपाल पक्ष पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारविरुद्ध पनि देखिएको छ । नेपाल पक्षले आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव आए पक्षमा मतदान गर्ने वा फ्लोर क्रस गर्नेजस्ता अभिव्यक्ति दिँदै आएको छ । यसले पार्टी एकतालाई बचाउँछ कि फुटाउँछ,’ ओली पक्षका एक नेताले भने ।
सरकारमा समेत सहभागी रहेका ती नेताले धेरैपटक पार्टी एकताको पक्षमा दोस्रो तहका साथीहरुसँग छलफलमा रहेको तर नेता नेपालको गतिविधिबाट उत्साह सेलाएको बताएका छन् । सम्पर्क सूत्रका रुपमा काम गरिरहेका नेताहरू पनि नेपालसामु निरीह रहेको ओली पक्षका ती नेताले बताए ।
‘म सहितका केही साथीले मिलाउन सकिन्छ कि भनेर धेरै प्रयास गरेका थियौं तर खास परिस्थिति अनुकूल हुन सकेन । अब भने एकता गर्नुभन्दा फरक पार्टीमा रहे जाती हुने देखियो,’ ती नेताले भने ।
ओलीले नेपाल पक्षका नेताहरुलाई थप कारबाही गर्ने संकेत गरिसकेका छन् । उनले आफूलाई हटाउन प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिँदै आएका छन् । ओलीले आफ्नो पक्षका नेताहरुलाई नेपाल पक्षले कारवाही गरेपछि कारवाही गर्न आफूलाई पनि आउने बताएर थप कारवाहीको संकेत दिएका छन् ।
नेपाल पक्षले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको छ । यसबाट झनै आक्रोशित ओली नेपाल पक्षका नेताहरुलाई थप कारवाही गर्ने सोचमा पुगेका छन् ।
नेपाल पक्षले वडा तहसम्म समानान्तर कमिटी गठन गरेर एमालेको ठूलो पंक्तिलाई आफ्नो पक्षमा संगठित गरिरहेको छ । नेपाल पक्षले संगठित गरिरहेको पंक्ति पार्टी फुटाउनकै लागि भएको र त्यसबाट बनेको नयाँ दल अन्ततः माओवादीमा गएर मिल्ने सम्भावना देखिएको भन्दै ओली पक्षले अब एकता असम्भव जस्तै भएको निष्कर्ष निकालेको छ ।
ओलीले समानान्तर कमिटी निर्माण गरेर हिँडिरहेका नेपाल पक्षका नेताहरुलाई कारवाहीबारे थप निर्णय लिन बैशाख ६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । ‘बैशाख ६ गतेको बैठकपछि थप निर्णयहरु आउनेछन् । उहाँहरुले पार्टी हितविपरीत कार्य गर्न थाल्नुभएको धेरै भयो,’ ओली पक्षका नेताको भनाइ छ । नेपाल पक्षले भने ओलीले आफूहरुलाई निषेध गरेपछि मात्रै समानान्तर कमिटी बनाएर जानुपर्ने बाध्यता आइलागेको बताएका छन् ।
नेपाल पक्षले वडा तहसम्म समानान्तर कमिटी गठन गरेर एमालेको ठूलो पंक्तिलाई आफ्नो पक्षमा संगठित गरिरहेको छ । नेपाल पक्षले संगठित गरिरहेको पंक्ति पार्टी फुटाउनकै लागि भएको र त्यसबाट बनेको नयाँ दल अन्ततः माओवादीमा गएर मिल्ने सम्भावना देखिएको भन्दै ओली पक्षले अब एकता असम्भव जस्तै भएको निष्कर्ष निकालेको छ ।
‘उहाँहरुले जेजस्ता गतिविधि गर्दै हुनुहुन्छ, त्यो भनेको अन्ततः माओवादीकै पोल्टामा पुग्नका लागि हो । त्यसकारण अब एकै ठाउँमा बस्नु भनेको पार्टीको क्षयीकरण मात्रै हो,’ ओली निकट अर्का नेताले भने । ती नेताका अनुसार पछिल्ला दिनमा दुबै पक्षका सम्पर्क सूत्रबाट एकताका लागि पहल भएको थियो । तर त्यो पहल दुबै शीर्ष नेताले दिने गरेका अभिव्यक्तिकै कारण बिथोलिएको छ । खासगरी नेपाल पक्षका नेताहरुले ओली दक्षिणपन्थीको सहयोगी भएको आरोप लगाएका छन् । ओलीले कम्युनिस्ट सरकार ढालेर अन्य दललाई सरकार बुझाउन चाहनेहरु नक्कली कम्युनिस्ट भएको बताएका छन् ।
‘दुबै नेताका अभिव्यक्ति निकै असन्तुलित छन् । यस्ता अभिव्यक्तिले पनि एकै ठाउँमा बस्न सकिँदैन भन्ने संकेत गरिरहेका छन्,’ ती नेताको दाबी छ ।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादीको एकता खारेज गरी पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन नेकपाभित्रको विवाद एमालेमा सरेको छ । एमाले अध्यक्ष ओलीले फागुन २८ गते आफू पक्षीय नेताहरु मात्र बोलाएर विधान संशोधन तथा नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोसेपछि विवाद चुलिँदै गएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।