काठमाडौं – नेकपा एमालेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच नेताहरू तान्ने प्रतिस्पर्धा चलिरहेका बेला तनहुँमा माधव नेपाल पक्षको समानान्तर कमिटीमा रहेका नेताहरू ओलीतिर लागेका छन् ।
नेकपा एमाले तनहुँका जिल्ला उपसचिव विष्णुभक्त सिग्देल र युवा संघका केन्द्रीय सदस्यहरूले आज मंगलबार एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेत उपस्थिति रहेको कार्यक्रममा सहभागी हुँदै माधव नेपाल पक्ष छाडेको घोषणा गरेका छन् ।
ओली पक्षका प्रभावशाली नेता महेश बस्नेत यतिबेला तनहुँ पुगेका छन् । तनहुँको राष्ट्रिय युवा संघ नेपालको जिल्ला स्तरीय र्याली तथा आमसभामा सम्बोधन गर्न बस्नेत तनहुँ पुगेका छन् ।
कार्यक्रममा एमाले तनहुँका जिल्ला उपसचिव विष्णुभक्त सिग्देल र नरेश शाही नेतृत्वको युवा संघका केन्द्रीय सदस्यहरू नारायण थापा र सुशील सिग्देलले माधव नेपाल पक्ष छाडेर संस्थापन ओली पक्षमा लागेको जानकारी दिए ।
आबुखैरेनी, डुम्रे, भिमाद, शुक्लागण्डकी लगायत स्थानबाट आएको मोटरसाइकल र्यालीले दमौली बजार परिक्रमा गरेको थियो ।
युवासंघ इन्चार्ज महेश बस्नेत, केन्द्रीय अध्यक्ष वचनबहादुर सिंह, सहअध्यक्ष किरण पौडेल लगायतको टीम ३ वटा अभियान लिएर हिँडेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।