काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार वितरण गरेको पदकमा राखिएको नेपालको नक्शा विवादमा परेपछि २०७७ सालको पदकमा नयाँ नक्शा समेटेर बुधवार वितरण गरिने भएको छ ।
२०७६ सालमा बाँड्नुपर्ने पदकमा नेपालको चुच्चे नक्सा प्रयोग नगरिएको भन्दै सर्वत्र विरोध भएपछि संविधान दिवस २०७७ को पदक तथा मानपदवी भने नयाँ नक्सा समेटेर वितरण गर्न लागिएको छ ।
२०७७ असोज ३ गते संविधान दिवसका अवसरमा भएको घोषणाअनुसार राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकामध्ये ४५२ जनालाई नयाँ नक्शा समेटिएका पदकबाट राष्ट्रपति कार्यालय शितलनिवासमा सुशोभन गरिने भएको छ । यसअघि गत शुक्रवार राष्ट्रपति भण्डारीले संविधान दिवस २०७६ को निर्णयअनुसार विभिन्न क्षेत्रमा योगदान पुर्याएका ६३३ जनालाई विभिन्न पदक वितरण गरेकी थिइन् ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले गत शुक्रवार वितरण गरिएका पदक २०७६ असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा भई सोही समयमै तयार भएको र सो समयमा रहेको नेपालको आधिकारिक नक्शा नै उल्लेख भएकाले नयाँ नक्शा समेट्न नसकिएको बताएका छन् ।
‘शुक्रवार वितरीत पदक २०७६ सालमा घोषणा भएको र यसलाई २०७७ बैशाख १ गते वितरण गर्नुपर्ने भए पनि कोरोनाका कारण वितरण गर्न सकिएको थिएन,’ उनले भने, ‘नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा समेटेर २०७७ असोज ३ गते घोषणा भएका पदक बुधवार वितरण गरिने छ ।’
२०७६ सालको पदक गत शुक्रवार बाँडिए पनि त्यसको छपाइको काम भने उतिबेलै भएकाले पछि अद्यावधिक भएको नेपालको नक्सा प्रयोग गर्न नसकिएको गृह मन्त्रालयले जनाएको छ । पदकमा उल्लेख भएको नक्शाको विरोधमा विभिन्न विद्यार्थी संगठनले प्रदर्शन गर्नुका साथै सामाजिक सञ्जालमा पनि व्यापक विरोध गरिएको थियो । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।