काठमाडौं – प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाले संसदीय समितिमा हेरफेर गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले समितिका सदस्यको हेरफेर सम्बन्धी सूचना सुनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी तथा पूर्व खानेपानीमन्त्री बिना मगरलाई विकास तथा प्रविधि समिति सदस्यको जिम्मेवारी दिइएको जानकारी दिए ।
सभामुखबाट राजीनामा गरेपछि कुनै पनि संसदीय समितिमा नरहेका माओवादी केन्द्रका सांसद कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिमा जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारबाट बाहिरिएका एमालेका घनश्याम भुसाल अर्थ समितिमा र योगेश भट्टराई शिक्षा तथा स्वास्थ्य समितिको सदस्यमा मनोनित भएका छन् ।
सरकारबाट बाहिरिएका माओवादी केन्द्रका सांसद वर्षमान पुन अर्थ समितिमा र गिरिराजमणि पोखरेल शिक्षा समितिमा मनोनित भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राज्य व्यवस्था तथा सुशासन समितिबाट कानून, न्याय तथा मानव अधिकार समितिमा सरुवा भएका छन् । माओवादी केन्द्रकै पम्फा भुसाल राज्य व्यवस्था समितिबाट सार्वजनिक लेखा समितिमा गएकी छन् ।
नेकपा एमालेका गोकुल बाँस्कोटा सार्वजनिक लेखा समितिमा गएका छन् भने महेश बस्नेत राज्य व्यवस्था समिति सदस्य मनोनित भएका छन् । नेकपा एकता बदर भएर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि एमालेले संसदीय समितिमा हेरफेरको लागि सभामुख सापकोटालाई माग गर्दै आएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।