काठमाडौं – सतहमा सत्ता समीकरण बदल्ने प्रयास भइरहे पनि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरको भित्री लाइन निर्वाचनमै जाने देखिएको छ ।
तत्काल चुनावमा जानका लागि ३ दलीय गठबन्धनको सरकार बन्न नदिन जसपाका ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले भूमिका खेलिरहेको छ ।
ठाकुर र महतो मुद्दाका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट देखिन्छन् । चुनावमा जाने सबालमा यो पक्षको रणनीतिक योजना प्रधानमन्त्री ओलीका साथै कांग्रेस सभापति देउवासँग पनि मिलेको छ ।
कांग्रेसले चैत २१ गते आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको थियो । त्यस्तो निर्णय गराउने पक्षमा देउवा थिएनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको दबाबले उनी बाध्यतामा परेका हुन् ।
पार्टीको निर्णयपछि समेत देउवा केही दिन ढुक्कले बसेका छन् । सरकार निर्माणमा पहल नगरेको भनेर आलोचना भएपछि उनले शुक्रवार माओवादी केन्द्र र जसपा सहितको बैठक डाके ।
कांग्रेस नेतृत्वमा सरकार बनाउन देउवाले औपचारिक रुपमा प्रस्ताव समेत गरे । माओवादी केन्द्रले सजिलै स्वीकारे पनि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले मानेनन् । कांग्रेसका एक नेताका अनुसार ठाकुर र महतो सरकार निर्माणमा सामेल हुन्छन् भन्नेमा सुरूदेखि नै देउवालाई विश्वास थिएन । पौडेल र सिटौलाको दबाब मत्थर बनाउन मात्र उनले ३ दलको बैठक डाकेका थिए ।
आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसबाट प्रस्ताव आएपछि पार्टीमा आन्तरिक छलफल गरेर निर्णय दिने भनेर निस्केका ठाकुर र महतोले आईतवार ५ सदस्यीय पदाधिकारी बैठकमा संसदको एजेन्डा नबनेसम्म सरकारबारे पार्टीले औपचारिक निर्णय लिन नहुने अड्डी कसे । यसको अर्थ संसद्मा अविश्वासको प्रस्ताव पेश वा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्रै जसपाले औपचारिक निर्णय गर्छ भन्ने हो ।
अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने तत्काल निर्णय लिनुपर्ने अडानमा थिए । यादव र भट्टराईले सुरूदेखि यस्तो अडान राखे पनि ठाकुर र महतोको फरक विचार तथा दृष्टिकोणका कारण जसपाले आईतवार कुनै निर्णय लिन सकेन । फेरि बैठक बस्ने भनिए पनि जसपाले सत्ता समीकरणका विषयमा तत्काल एकमतका साथ धारणा अघि सार्ने सम्भावना कम देखिएको छ ।
कांग्रेसले पनि आईतवार पदाधिकारी बैठक राखेको थियो । देउवा र पौडेल दुबै अनुपस्थित बैठकमा पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्यतालिकाका विषयमा मात्रै छलफल भएको छ ।
जसपा अनिर्णित हुँदा वैकल्पिक सरकार बन्ने सम्भावना रहँदैन । कांग्रेस, माओवादी केन्द्र र जसपा मिल्दा मात्रै संसदमा बहुमत पुग्छ । ठाकुर र महतोले सरकारसँग आफूहरुले उठाएका मुद्दा धेरै अघि बढिसकेको तर्क गर्दै प्रधानमन्त्री ओलीलाई तत्काल चिढ्याउन चाहेका छैनन् । वरिष्ठ नेता महतोले जेलमा रहेका कार्यकर्ताको सवाल जोडिएकाले तत्काल सरकारलाई चिढ्याउने पक्षमा आफूहरु नभएको बताएका छन् ।
‘सत्तामा केन्द्रित हुने होइन, मुद्दा र आन्दोलनको कार्यभार समाधान गर्ने जिम्मेवारी हाम्रो टाउकोमा छ । हामीले सरकारसँग राखेका धेरै मुद्दा अघि बढेको जानकारी पाएका छौं,’ महतोले भने, ‘कार्यकर्ताको जीवनको सवाल हो । त्यसलाई अवरोध गर्न हुन्न । सत्ता समीकरणको एजेन्डा जब संसदमा आउँछ, त्यतिबेला औपचारिक निर्णय गर्छौं ।’
ठाकुर र महतोले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको कारण देखाएर सत्ता समीकरणको एजेन्डा नआएको बताउने गरेका छन् । कांग्रेस सभापति देउवाको पनि त्यस्तै भनाइ छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रतिनिधिसभा विघटनको कोर्समा मुलुक अघि बढ्छ । एक नेताका अनुसार रणनीतिक रुपमा देउवा र ठाकुर पक्षले चाहेकै त्यही हो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । लिन नसके उनी पदमुक्त हुन्छन् । त्यसपछि हुने प्रधानमन्त्री पनि ओली नै हुन् ।
संविधानको धारा ७६ (२) अन्तर्गत बनेको सरकारले विश्वासको मत प्राप्त गर्न नसके धारा ७६ (३) अनुसार संसदमा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछिन् ।
यसरी बनेको प्रधानमन्त्रीले फेरि पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । त्यतिबेला पनि विश्वासको मत लिन असफल भए र अर्को प्रधानमन्त्री नियुक्ति हुने अवस्था नभए प्रतिनिधिसभा संविधानतः विघटन गर्न सकिने संवैधानिक प्रावधान छ । यही कोर्स अघि बढाउने रणनीतिक योजनामा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष ठाकुरसँगै रहेका नेताहरु बताउँछन् ।
माओवादी केन्द्रले तत्काल प्रतिनिधि सभाको निर्वाचनमा जान चाहेको छैन । उसको पहिलो प्राथमिकता ओली नेतृत्वको सरकारलाई हटाउने हो । ओलीको विकल्पमा बन्ने सरकारबाट १ वर्षपछि स्थानीय तहको र त्यसपछि मात्रै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने मनस्थिति माओवादी केन्द्रका नेताहरुको देखिन्छ । संसदले वैकल्पिक सरकार दिएपछि संविधानतः प्रतिनिधिसभा विघटन गरेर सिधै निर्वाचनमा जान सकिँदैन । जान खोजिए फेरि ओलीकै हातमा सरकार आइपुग्ने अवस्था बन्ने देखिएको छ ।
वैकल्पिक सरकारले विश्वासको मत लिन सकेन भने ठूलो दलको हैसियतले फेरि प्रधानमन्त्री बन्ने ओली नै हुन्छन् । यही गोलचक्करका कारण वैकल्पिक सरकार सुनिश्चित भएपछि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने र अविश्वासको प्रस्ताव दर्ता गर्ने रणनीतिमा माओवादी केन्द्र पुगेको छ ।
सहमति नहुँदै समर्थन फिर्ता लिए ओली नेतृत्वकै सरकारले गराउने निर्वाचनमा जानुपर्ने बाध्यता आउन सक्ने माओवादी केन्द्रको बुझाइ रहेको छ ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि सरकार संकटबाट मुक्त हुँदैन । बजेट सम्बन्धी नीति तथा कार्यक्रममै सरकार संकटमा पर्न सक्छ । नीति तथा कार्यक्रम अस्वीकृत भयो भने प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसपछि नै प्रतिनिधिसभा विघटन गर्ने कोर्समा राजनीतिक अघि बढ्न सक्छ ।
कांग्रेसमा पौडेल र सिटौला, जसपामा यादव र भट्टराई पक्ष कुनै पनि हालतमा ओली नेतृत्वको सरकारले गराउने चुनावमा जान नहुने पक्षमा देखिएका छन् । ओलीले गराउने निर्वाचन निष्पक्ष र स्वतन्त्र नहुने उनीहरुको दाबी छ । त्यसैकारण पौडेल र सिटौलाले ओलीलाई जसरी पनि हटाउन जोडबल लगाइरहेका छन् । त्यसका लागि आफ्नै पार्टीको नेतृत्वसँग उनीहरुले २ विकल्पमा छलफल गरेका छन् ।
पहिलो, कांग्रेसकै नेतृत्वमा सरकार बनाउने हो । त्यसका लागि पार्टीले पहिल्यै प्रधानमन्त्रीको उम्मेदवारका लागि सभापति देउवालाई अघि सारिसकेको छ । कांग्रेसको नेतृत्वमा सम्भव नभए माओवादी केन्द्र वा जसपा, जसमा सहमति बन्छ उसैको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नुपर्ने धारणा पौडेल–सिटौलाको रहेको छ ।
सर्वदलीय बैठकअघि कर्मचारी युनियनको एउटा कार्यक्रममा महामन्त्री शशांक कोइरालाले कांग्रेस नेतृत्वमा सरकार बन्न सकेन भने ओलीलाई हटाउन अरु कसैको नेतृत्वका लागि पनि तयार हुनुपर्ने बताएका थिए ।
प्रधानमन्त्री दिए जसपा एक ठाउँमा आउन सक्ने बुझाइ कांग्रेस नेताहरुमा छ । तर सभापति देउवा र उनीपक्षीय नेताहरुले आफ्नो पार्टीको नेतृत्वमा बाहेक सरकारमा सहभागिता र समर्थन मान्य नहुने बताउँदै आएका छन् । कांग्रेस उपसभापति विमलेन्द्र निधिले जसपाले प्रष्ट निर्णय नलिएसम्म कांग्रेस मात्रै अघि सरेर नयाँ सरकार बन्न नसक्ने बताएका छन् ।
‘कांग्रेस नेतृत्वमा सरकार बनाउन पार्टीले औपचारिक निर्णय लिइसकेको छ । तर यथार्थ हामीसँग बहुमत संख्या छैन । कांग्रेस, माओवादी केन्द्र र जसपा मिल्दा मात्रै सरकार परिवर्तन गर्न सक्छौं,’ निधिले भने, ‘तर जसपा अहिलेसम्म तयार भएको छैन । कांग्रेसको नेतृत्वमा होस् कि अरु कसैको, जसपाको समर्थन जसले प्राप्त गर्न सक्छ त्यही बहादुरी नेता हुने अवस्था छ ।’
ओली बाहेकको नेतृत्वबाट सिधै मध्यावधि चुनावमा जान सकिँदैन । त्यसैले पनि देउवा र ठाकुर ओलीले गराउने चुनावमा समेत सहभागी हुने मनस्थिति बनाएका छन् । जसपा नेता महतोले भने आफ्नो पार्टीले नेतृत्व नखोजेको र मुद्दाकै विषय बताउँदै आएको बताए ।
‘कुनै नेतालाई हतार हुँदैमा सडकबाट सरकार खोज्ने कुरा हुन सक्दैन । सरकार संसदबाट बन्ने हो । अहिले बहुमतकै सरकार छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि वा अविश्वासको प्रस्ताव आएपछि मात्रै संसदमा यो विषय एजेन्डा बन्छ । त्यसपछि मात्रै हामीले निर्णय गर्छौं,’ उनले भने, ‘कांग्रेसले कुन परिबन्धले निर्णय गरेको छ, देउवाले सत्ता समीकरणको काम गरिरहेका छन् कि केका लागि गरिरहेका छन्, सबैले बुझेका छन् ।’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।