काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका खास मान्छे तथा सुदूरपश्चिम संहसंयोजक कर्णबहादुर थापालाई कारवाही गर्ने प्रक्रिया अगाडि बढेको छ ।
नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले सहसंयोजक थापालाई पार्टीबाट १ वर्षका लागि निलम्बन गर्न सिफारिस गरेको हो ।
आईतवार धनगढीमा पत्रकार सम्मेलन गरेर नेपाल पक्षका प्रदेश संयोजक भीमबहादुर रावलले थापालाई अनुशासनको कारबाही गर्न सिफारिस गरिएको बताए । संयोजक रावलको सिफारिस केन्द्रीय कमिटीबाट अनुमोदन भएमा थापालाई कारवाही हुनेछ ।
‘एमालेको विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन गर्ने जस्तो घातक कार्यमा संलग्न हुनुका साथै पार्टी कार्यालयमा गुण्डागर्दी र तोडफोड गर्ने काममा संलग्न भई पार्टीलाई विसर्जनतर्फ धकेल्ने क्रियाकलाप गरेकाले सुदूरपश्चिम प्रदेश कमिटीका सहसंयोजक कर्णबहादुर थापालाई विधानको धारा ४९ को(क) को १ देखि ७ र १४ तथा धारा ५९ बमोजिम अनुशासनको कारवाही गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै पार्टी सदस्यताबाट १ वर्ष निलम्बन गर्न सिफारिस गरिएको छ,’ रावलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि नेकपा एमालेले रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जबाट हटाएर माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी तोकेको थियो । अध्यक्ष ओलीको निर्देशनमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै एमालेले नेता रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिसकेको छ ।
तर रावलले आफूलाई गरिएको कारवाही अवैध रहेको बताएका छन् । पत्रकार सम्मेलनमा पनि आईतवार नेता रावलले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर आफूलाई कारवाही गरेको दावी गरेका छन् ।
रावलले अध्यक्ष ओली आफैं अवैध भएकाले आफूलाई गरिएको कारवाही समेत अवैध भएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।