काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट नै निष्कासन गरे । तर भीम रावल पछि हटेनन् ।
नेता रावलले सुदूरपश्चिममा खटिएर काम देखाउँदै अध्यक्ष ओलीलाई धक्का लगाइदिएका छन् । एमालेभित्र कारवाहीमा परेका भनिएपछि सुदूरपश्चिममा आएर नेता रावलले अधिकांश नेता कार्यकर्तालाई आफ्नो पक्षमा पार्दै जिल्लास्तरमा समानान्तर कमिटी बनाएका छन् ।
नेता भीम रावलको अगुवाइमा सुदूरपश्चिममा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले जिल्ला–जिल्लामा कमिटी निर्माण गरेको छ । खनाल–नेपाल पक्षीय एमालेका प्रदेश संयोजक भीम रावलले आईतवार पत्रकार सम्मेलनमार्फत आफ्नो प्रदेश कमिटी बैठकले विभिन्न जिल्ला कमिटी गठन गरेको जानकारी दिएका छन् ।
कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा तामाङ, उपाध्यक्षमा जीवनराज थापा, सचिवमा रणबहादुर महरा, उपसचिवमा रवीन्द्र कुँवर र कार्यालयमा सचिव मोहनसिंह रावललाई नियुक्त गरिएको नेता रावलले बताए ।
बाजुरा जिल्ला कमिटी अध्यक्षमा गगनबहादुर रावल, सचिवमा पुरबहादुर राउत र उपसचिव निरबहादुर शाहीलाई जिम्मेवारी तोकिएको छ । उपाध्यक्षबारे जिल्ला कमिटी बैठकले निर्णय लिनेछ ।
बैतडी जिल्ला कमिटीको अध्यक्षमा महादेव भट्ट, उपाध्यक्षमा कृष्ण साउँद, सचिवमा हर्कबहादुर धानुक, उपसचिवमा गौरीदत्त भट्टलाई जिम्मेवारी तोकिएको छ ।
अछाम जिल्ला कमिटी अध्यक्षमा शेरबहादुर कुँवर, उपाध्यक्षमा नन्दबहादुर कडायतलाई नियुक्त गरिएको जनाइएको छ । सचिव, उपसचिव र कार्यालय सचिव तोक्ने जिम्मेवारी जिल्ला कमिटीलाई दिइएको छ । कैलाली जिल्ला कमिटी अध्यक्षमा दीर्घबहादुर सोडारी रहेका छन् ।
डडेल्धुरा जिल्ला कमिटी अध्यक्षमा डा. तारा जोशी, उपाध्यक्षमा वीरेन्द्रबहादुर बस्नेत, सचिवमा धनबहादुर साउँद, उपसचिवमा शकुन्तला नगरकोटी नियुक्त भएका जनाइएको छ ।
पार्टी कार्यालय सचिव जिल्ला कमिटीले तय गर्ने जनाइएको छ । डोटी जिल्ला कमिटी अध्यक्ष चक्रबहादुर मल्ल र उपाध्यक्ष दूर्गाप्रसाद ओझा बनेका छन् । सचिव जिल्ला कमिटीको बैठकले चयन गर्ने जनाइएको छ । डोटीको उपसचिवमा मञ्जु मलासी, कार्यालय सचिवमा खड्कबहादुर कठायतलाई जिम्मेवारी तोकिएको छ ।
बझाङ जिल्ला अध्यक्षमा दिलबहादुर सिंह, उपाध्यक्षमा इन्द्रबहादुर भण्डारी, सचिवमा दमनबहादुर भण्डारी, उपसचिवमा धनबहादुर बोहरा, कार्यालय सचिवमा सुरतबहादुर सिंहलाई जिम्मेवारी तोकिएको छ ।
एमाले अधिवेशनबाट निर्वाचित अधिकांश जिल्ला अध्यक्षहरूलाई आफ्नो पक्षमा पार्दै नेता भीम रावलले अध्यक्ष ओली पक्षलाई ठूलो धक्का दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।