आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओली र महन्थ ठाकुरबीच कसरी भयो कसिलो गठबन्धन ? यस्तो छ भित्रि रहस्य

केपी ओली र महन्थ ठाकुरबीच कसरी भयो कसिलो गठबन्धन ? यस्तो छ भित्रि रहस्य

  • मिडिया डबली
  • आइतवार, चैत्र २९ २०७७

  • 9.6K
    SHARES

  • केपी ओली र महन्थ ठाकुरबीच कसरी भयो कसिलो गठबन्धन ? यस्तो छ भित्रि रहस्य

    काठमाडौं – कुनै बेला मधेशविरोधी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई–मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरबीच निकटता बढेको छ । 

    ओली–ठाकुरबीच यस्तो निकटता बढेको १ वर्ष पूरा भएको जसपाका नेताहरुले बताएका छन् ।

    ठाकुरनिकट नेताहरु प्रधानमन्त्री ओली र ठाकुरबीचको निकटता आगामी चुनाव र सत्ता सहयात्रासम्म जान सक्ने जनाएका छन् । ‘पोहोर फागुनमा प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन अस्पतालमा भर्ना भएको बेलादेखि नै ओली र ठाकुरबीच निकटता बढेको हो,’ ठाकुरनिकट नेताले भने, ‘प्रधानमन्त्री मनमोहनमा भर्ना भएको बेला ठाकुरजी भेट्न जानुभएको थियो । त्यतिखेर प्रधानमन्त्रीज्यूले सञ्चो भए माग पूरा गर्ने आश्वासन गर्दै विश्वास गर्न आग्रह गर्नुभएको थियो । त्यसपछि ठाकुरजी प्रधानमन्त्रीप्रति आशावादी देखिनुभएका छ ।’

    मनमोहन अस्पतालबाट डिस्चार्ज भएपछि समेत प्रधानमन्त्री र ठाकुरबीच बारम्बार भेटघाट र कुराकानी हुने गरेको ठाकुरनिकट स्रोतको भनाइ छ । यो भेटघाट कहिले एक्लाएक्लै र कहिले संयुक्त हुने गरेको छ । ‘मधेश आन्दोलन ठाकुरजीको अगुवाइ र नेतृत्वमा भएको हो । त्यसैले आन्दोलनका बेला बन्दी बनाइएकाहरुको रिहाइ र मुद्दा फिर्ताका लागि पहल गर्ने जिम्मेवारी पनि ठाकुरजीकै काँधमा छ,’ जसपाका ठाकुरनिकट नेता डा. सुरेन्द्र झाले भने, ‘प्रधानमन्त्रीले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्री र ठाकुरबीच निकटता बढ्दै गएको हो ।’

    प्रधानमन्त्री ओलीले ठाकुरलाई सरकारको नेतृत्व गर्नसम्मको प्रस्ताव गरेको झाले दाबी गरे । ‘प्रधानमन्त्रीले ठाकुरसँग सरकारको नेतृत्व गर्ने अवस्था आउन सक्नेसम्म भन्नुभएको छ,’ झाले भने, ‘यस्तो प्रस्ताव अन्य पार्टीबाट आएको छैन ।’

    प्रधानमन्त्री ओली र ठाकुरबीचको निकटता शुक्रवार नेपाली कांग्रेसले बोलाएको ३ दलको बैठकमा समेत देखियो । कांग्रेसले राखेको ओली सरकार ढाल्ने प्रस्तावमा ठाकुरले सहमति जनाएनन् । बैठकमा ओलीसँग मिल्नै हुँदैन भनेर अडान राख्ने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवले समेत ठाकुरको लाइन विपरीत बोल्न सकेनन् ।

    अहिले जसपाभित्र २ लाइन चलेको छ । एउटा लाइनको नेतृत्व ठाकुरले र अर्को लाइनको नेतृत्व यादवले गरेका छन् । यादवलाई भट्टराईले साथ दिएका छन् । यादवनिकट नेता तथा सांसद उमाशंकर अरगरैया पनि पार्टीभित्र २ लाइन देखिएको स्वीकार गर्छन् । 

    ‘पार्टीभित्र २ लाइन छन् । यो त देखिएकै कुरा हो,’ उनले भने, ‘यसबारे तत्काल बैठक बसी पार्टीले एउटा लाइन समात्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्ने आश्वासन दिएको र ठाकुर प्रधानमन्त्रीसँग निकट देखिएको उनले बताएका छन् ।

    ठाकुरलाई जसपाअन्तर्गत पूर्व राजपा अध्यक्ष मण्डलका एक नेता महेन्द्र यादवबाहेक सबैले साथ दिएका छन् । राजेन्द्र महतोले त खुलेरै साथ दिएका छन् । महेन्द्र यादव भने पछिल्लो समय उपेन्द्र यादवसँग निकट देखिएका छन् । जसपाका एक पदाधिकारीले भने, ‘प्रधानमन्त्रीको आश्वासनपछि ठाकुर निकै उत्साहित हुनुभएको छ ।’

    प्रधानमन्त्री ओली, ठाकुर र महतोबीच बढ्दै गएको निकटताप्रति पार्टीका अर्का यादवनिकट नेताहरुले भने मन पराएका छैनन् । तर २ लाइनको विवादमा ठाकुर बहुमतमा रहेका छन् । अहिले यादवलाई ६ सांसदले मात्र साथ दिएको ठाकुरनिकट नेताले ठोकुवा गरेका छन् ।

    ‘अहिले भट्टराईजी र यादवजी पार्टी फुटाउने सक्ने अवस्थामा हुनुहुन्न,’ ती नेताले भने, ‘केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याउन सके पनि संसदीय दलमा उहाँहरु अल्पमतमा हुनुहुन्छ ।’ पूर्व राजपाका महासचिव राजीव झाले प्रधानमन्त्रीले पार्टीले उठाएका माग पूरा गरे पार्टी सरकारमा जानुपर्ने बताए । पार्टीले राखेका माग पूरा गर्न ओली सरकारले प्रक्रिया अघि बढाएको बेला प्रधानमन्त्री र ठाकुरबीच निकटता बढ्नु स्वाभाविक भएको झाले बताए । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend