काठमाडौं – पार्टीभित्र आन्तरिक संघर्ष उत्कर्षमा पुगेको पुनर्जीवित नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले उदयपुरमा समानान्तर कमिटी गठन गरेको छ ।
वरिष्ठ नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई साधारण सदस्य समेत नरहने गरी ६ महिनाका लागि निलम्बनको कारबाहीपछि चर्केको अन्तरसंघर्षको क्रममा देशव्यापी समानान्तर कमिटी निर्माणको क्रमलाई तीव्रता दिइएको छ ।
केही दिनअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित अगुवा नेतालाई कारबाही गरेसँगै समानान्तर कमिटी गठन प्रक्रियाको अभियानलाई देशव्यापी बनाइएको छ ।
उदयपुरमा जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष ईश्वरमणि राउतकै अध्यक्षतामा समानान्तर कमिटी निर्माण भएको पार्टीले जनाएको छ ।
पार्टीको २०५ सदस्यीय समानान्तर जिल्ला कमिटीको अध्यक्षमा राउत स्वयं रहेका छन् । उपाध्यक्षमा कैलाश बस्नेत, सचिव जयराम पञ्जियार थारु र उपसचिवमा गीता खड्का रहेका छन् । समानान्तर कमिटीलाई एमाले पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडाले शपथ गराएका छन् ।
अध्यक्ष राउत र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलदेव चौधरी आफ्नै समूहमा रहेकाले जिल्ला पार्टीदेखि सबै जनवर्गीय संगठनमा एमालेका समानान्तर कमिटी गठन गर्ने क्रम चलिरहेको पार्टीले जानकारी दिएको छ ।
शपथ लिइसकेको जिल्ला नेतृत्वले आगामी ३ महिनाभित्र जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटै स्थानीय तह तथा ७५ वटै वडामा पार्टीको समानान्तर कमिटी गठन गरिसक्ने निर्णय गरेको छ । जिल्लाका धेरैजसो स्थानीय तह र वडा कमिटीहरु आफ्नै पक्षका रहेकाले त्यसैलाई कायम राखिने छ भने ओली समूहले खोसेका केही ठाउँमा नयाँ कमिटी गठन गर्ने अध्यक्ष राउतले बताएका छन् ।
पार्टीसँगै खनाल–नेपाल पक्षले एमालेका सबै जनवर्गीय संगठनको पनि समानान्तर कमिटी गठन गर्ने क्रम चलिरहेको राउतले बताए । जसअनुसार युवा संघ, अनेरास्ववियू, अनेमसंघ गठन भइसकेको र मजदुर संगठन, जनसांस्कृतिक महासंघ, किसान महासंघ र जनसम्पर्क लगायत अन्य जनवर्गीय संगठनका समानान्तर कमिटी पनि छिट्टै तल्लो तहसम्म गठन गरिसक्ने पार्टीले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।