आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओली र महन्थ ठाकुरबीच सहमति, संदीग्ध २१० जनालाई उन्मुक्ति !

केपी ओली र महन्थ ठाकुरबीच सहमति, संदीग्ध २१० जनालाई उन्मुक्ति !

  • मिडिया डबली
  • शुक्रवार, चैत्र २७ २०७७

  • 7.9K
    SHARES

  • केपी ओली र महन्थ ठाकुरबीच सहमति, संदीग्ध २१० जनालाई उन्मुक्ति !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्य लगायत विषयमा छलफल गरिरहेको जनता समाजवादी पार्टी (जसपा) ले मधेश आन्दोलनका क्रममा २१० जनालाई लगाइएका मुद्दा फिर्ता लिन बिहीवार गृह मन्त्रालयमा पत्र बुझाएको छ ।

    पत्रमा मुद्दा लगाइएका व्यक्तिहरुको नाम राखिएको छ । जसपाका नेता डा. सुरेन्द्र झाले बिहीवार दिउँसो गृहसचिव महेश्वर न्यौपानेलाई मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरुको सूची बुझाएका छन् ।  

    २४ थान मुद्दामा अभियुक्त बनाइएका २१० जनाको नाम र ठेगाना सहितको सूची मन्त्रालयमा बुझाएको डा. झाले बताए । जसपाका अनुसार सूचीमा प्रदेश २ सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माको नाम समेत छ ।

    २०७२ सालको तेस्रो मधेश आन्दोलनका क्रममा जलेश्वरमा थमन विकको हत्या घटनामा शर्मालाई अभियुक्त बनाएर मुद्दा चलाइएको छ । सूचीमा जलेश्वर नगरपालिकाका मेयर शंकर शाहको नाम समेत छ । २१० जनाको सूचीमा रहेका सबै जसपाका नेता–कार्यकर्ता भएको पार्टीले जनाएको छ ।

    ‘पार्टीका कार्यकर्तामाथि विभिन्न अदालतमा दायर गरिएका मुद्दा फिर्ता लिन गृह मन्त्रालयमा नाम बुझाएका छौं,’ नेता झाले भने । जसपाले बुझाएको सूचीका आधारमा सरकारले मुद्दा फिर्ता लिने सहमति भएको उनले बताएका छन् ।

    झाका अनुसार गृहमा बुझाएको मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरुको सूचीलाई महान्यायाधिवक्ताको कार्यालय हुँदै कानून मन्त्रालयमा लगिने छ । कानून मन्त्रालयले मुद्दा फिर्ता लिन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने छ । मन्त्रिपरिषद्बाट प्रस्ताव अनुमोदन भएपछि मुद्दा फिर्ता लिइने छ ।

    यसअघि जसपाले नाम संकलन गर्न गृह मन्त्रालयबाट फाराम लिएर जिल्ला–जिल्लामा पठाएको थियो । जिल्ला–जिल्लामा फाराम भराएर संकलन गरिएका नामको सूची जसपाले गृहमा बुझाएको छ । फाराममा मुद्दा लगाइएका व्यक्ति, मुद्दा दर्ता गरिएको अदालत, हाल मुद्दाको अवस्थालगायत विवरण खुलाइएको छ ।

    जसपाले सरकारसँग ५ वटा माग राखेको छ । जसमध्ये मुद्दा फिर्ता लिनुपर्ने मागलाई उसले प्राथमिकता साथ उठाएको छ । यसबाहेक जसपाले थुनामा रहेका पार्टीका सांसद रेशम चौधरीको रिहाइ, नागरिकता विधेयक पास गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेको छ । विभिन्न चरणमा भएका वार्तापछि पार्टीले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया सुरू गरेको नेता झाले बताएका छन् ।

    गृहमा मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरुको नामावली बुझाउनुअघि जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए । प्रधानमन्त्री ओली र ठाकुरबीच भएको सहमतिका आधारमा गृहमा नाम बुझाएको झाले बताएका छन् । जसपाले आफ्ना माग पूरा भएपछि मात्र नयाँ सत्ता समीकरणबारे निर्णय लिने बताउँदै आएको छ ।

    सरकार संकटमा पर्ने अवस्था आएपछि प्रधानमन्त्री ओलीले जसपाको समर्थन लिन विभिन्न चरणमा वार्ता गर्दै आएका छन् । 

    सरकारले जसपाका माग पूरा गर्न कार्यदल समेत गठन गरेको छ । कार्यदलमा अर्थमन्त्री विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र राजन भट्टराई सरकारका तर्फबाट र जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सदस्य रहेका छन् । शुक्ल र कर्ण दुबै अध्यक्ष ठाकुरनिकट मानिन्छन् ।

    पछिल्लो समय जसपा अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीसँग निकट देखिएका छन् । जसपाका नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायत नेता ओलीसँग सहकार्य गरेर सत्तामा जानुपर्ने पक्षमा रहेका छन् ।  

    जसपा नेता राजीव झाले प्रधानमन्त्री ओलीले माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले उनीसँग अध्यक्ष ठाकुर निकट भएको बताएका छन् । ‘हामीलाई हाम्रा मुद्दासँग मतलब छ । प्रधानमन्त्रीले नगदमै हाम्रो माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ राजीवले भने, ‘हातहातै माग पूरा हुन्छन् भने किन नगराउने ?’

    ठाकुर निकट मानिने उनले ओलीले अध्यक्ष ठाकुरलाई सरकारको नेतृत्व गर्नेसम्मको प्रस्ताव राखेको पनि बताएका छन् । जसपाका एक पदाधिकारी भन्छन्, ‘प्रधानमन्त्रीको आश्वासनपछि ठाकुर निकै उत्साहित हुनुभएको छ ।’ जसपाका एक नेताका अनुसार पछिल्लो १ वर्षयता ठाकुर र प्रधानमन्त्री ओलीबीच निकटता बढेको छ । 

    खासगरी तत्कालीन समाजवादी पार्टी (सपा) अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री ओलीले तत्कालीन राजपासँग निकटता बढाउन थालेको ठाकुर निकट एक नेताले बताएका छन् । यादव सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री ओली र ठाकुरबीच पटक–पटक एक्लाएक्लै र सामूहिक कुराकानी हुने गरेको छ ।

    तत्कालीन समाजवादी पार्टी र राजपा मिलेर जसपा बनेको छ । प्रधानमन्त्री र ठाकुरबीच बढ्दै गएको निकटतासँगै जसपाभित्र गम्भीर विवाद उत्पन्न भएको छ । ठाकुर पक्ष पार्टीका माग पूरा गराएर सत्तामा ओलीसँग सहकार्य गर्न चाहन्छन् । तर यादव ओलीसँग सत्ता सहकार्य गर्न तयार छैनन् । जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई समेत यादवको पक्षमा रहेका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend