आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महन्थ ठाकुरले ओलीसँग घाँटी जोडेपछि जसपाभित्र खैलाबैला

महन्थ ठाकुरले ओलीसँग घाँटी जोडेपछि जसपाभित्र खैलाबैला

  • मिडिया डबली
  • बिहिवार, चैत्र २६ २०७७

  • 6.3K
    SHARES

  • महन्थ ठाकुरले ओलीसँग घाँटी जोडेपछि जसपाभित्र खैलाबैला

    काठमाडौं – नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ ।

    अध्यक्ष ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति अर्को लाइनको नेतृत्व गरिरहेका अध्यक्ष उपेन्द्र यादव झस्किएका छन् ।

    अध्यक्ष यादवलाई पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले साथ दिएका छन् । भट्टराई र यादव कुनै पनि अवस्थामा एमालेसँग मिल्ने पक्षमा देखिएका छैनन् ।

    यादवले सार्वजनिक रुपमै ‘दिमाग खुस्केकाहरु मात्र ओलीसँग मिल्नेछन्, हामी मिल्दैनौं’ भन्ने गरेका छन् । तर उनकै पार्टीका अध्यक्ष ठाकुर ओलीसँग मिल्न अन्तिम तयारी गर्दैछन् ।

    यसबीच प्रधानमन्त्री र ठाकुरबीच धेरैपटक भेट भइसकेको छ । कहिले एक्लै र केहीले गोप्य भइरहेको छ । ठाकुरनिकट नेता तथा कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जसपाका कार्यकर्ताहरुमाथि लगाइएका मुद्दा फिर्ता गर्ने र बन्दी रिहाइ गर्न प्रक्रिया सरकारले अघि बढाएको बताएका छन् ।

    ठाकुरनिकट नेताहरु ओली सरकारले माग पूरा गरेमा ओलीसँग मिलेर जान सकिने बताउँदै आएका छन् । तर यादव निकट नेताहरु ओलीसँग कुराकानी गर्न समेत चाहन्नन् । त्यसैले ओलीसँग भेटघाट गर्दा भट्टराई र यादव सहभागी हुने गर्दैनन् । ठाकुर र ठाकुरनिकट नेताहरुले मात्र ओलीसँग कुराकानी गर्ने गरेका छन् ।

    ‘हाम्रो लाइन प्रस्ट छ, जसले माग पूरा गर्छ, त्यसलाई हामीले समर्थन गर्छौं,’ ठाकुरनिकट जसपाका कार्यकारिणी समितिका सदस्य मनिष सुमनले भने, ‘ओली सरकारले हाम्रो माग पूरा गर्छ भने ओली सरकारलाई हामी समर्थन गर्छौं ।’

    पार्टीभित्र विवाद बढ्दै गए पछि पार्टीको बैठक बस्न सकेको छैन । चैत ५ गते बोलाइएको कार्यकारिणी समितिको बैठक चैत ५ गते बस्न सकेन । चैत ५ गते बस्न नसकेको बैठक होली पछि बस्ने भनिएको थियो । तर होलीपछि पनि बैठक बस्न सकेन । बैठक कहिले बस्छ, कसैलाई थाहा छैन ।

    कार्यकारिणी समितिको पछिल्लो बैठक पुसको पहिलो हप्ताभित्र बसेको थियो । त्यसबेला समिकरणको चर्चा उठेको थिएन । पार्टीको केन्द्रीय समितिको बैठक हालसम्म १ पटक पनि बस्न सकेको छैन ।

    जसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले भने तयारी नपुगेर बैठक बस्न नसकेको बताएका छन् । तयारी पुगेपछि बैठक बस्ने उनले बताए । तर अर्को बैठक कहिले बस्छ, त्यसबारेमा भने उनले केही भन्न चाहेनन् ।  

    पार्टीभित्रको विवादमा पूर्व राजपाका अध्यक्ष मण्डलका ६ सदस्यमध्ये ५ जना सदस्यहरुले ठाकुरलाई साथ दिएका छन् । महेन्द्र यादवले भने उपेन्द्र यादवलाई सहयोग गरेका छन् । यादवलाई भट्टराईबाहेक रामसहाय यादव र राजेन्द्र श्रेष्ठले पनि साथ दिएका छन् । तर पनि पार्टीभित्र ठाकुर बहुमतमा रहेका छन् । 

    पोहर साल झण्डै तत्कालीन समाजवादी पार्टी फुटाएका बिमल श्रीवास्तव, प्रदीप यादव, इस्तियाक राई लगायतका सांसदहरुले पनि ठाकुरलाई साथ दिएका छन् । 

    ठाकुर निकट नेताहरुले प्रधानमन्त्री ओलीले आफ्नो माग सम्बोधन गरेमा सरकारलाई समर्थन गर्ने वा सरकारमा जान सकिने धारणा राख्दै आएका छन् । ‘पहिले पनि उहाँ (उपेन्द्र यादव) ओली सरकारमा गएकै हो । माग पूरा भयो भने सरकारमा जान नसक्ने भन्ने होइन,’ जसपाका नेता राजिव झाले भने, ‘हामी ओली सरकारमा जान सक्छौं वा बाहिरबाट पनि समर्थन गर्छौं ।’

    पार्टीको नीतिविपरीत जानेहरु पार्टी छाड्न सक्ने उनले बताए । ‘उपेन्द्रजीलाई ओलीले अपमानपूर्वक हटाएको बिर्सनु भएको छैन । त्यसैले उहाँ ओलीसँग सरकारमा जान चाहनुहुन्न । तर हामी जान नसक्ने भन्ने होइन,’ ठाकुर निकट एक नेताले भने, ‘तर हामी उहाँ जस्तो माग पूरा नभएर पनि सरकरमा जान्नौं । माग पूरा भएपछि मात्र सरकारमा जान्छौं ।’

    पार्टीभित्र २ लाइनको विवाद बढ्दै गएपछि समयोजनको काम पनि अघि बढ्न सकेको छैन । हालसम्म विकट हिमाली जिल्ला पहाडी जिल्लाका १–२ ठाउँमा मात्र समायोजन भएको छ । पूर्व राजपा र पूर्व समाजवादीको प्रभाव रहेको प्रदेश २ तथा लुम्बिनी प्रदेशका एक जिल्लामा पनि हालसम्म समायोजन भएको छैन । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend