काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले पछिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अध्यक्ष केपी शर्मा ओली पक्ष लागिपरेको बताएका छन् ।
नेता नेपालले आईतवार एमाले काठमााडौं जिल्ला समानान्तर कमिटी गठन गर्ने क्रममा गत निर्वाचनमा ओली समूहले बामदेव गौतम र आफूलाई हराउन कोसिस गरेको दाबी गरे ।
‘चुनावमा बामदेवजी र मलाई हराउन कोसिस गरेका थिए, बामदेवजीलाई भने हराए नै,’ उनले भने । ओली पूर्वाग्रही भएको समेत नेता नेपालले बताए ।
नेता नेपालले पार्टीभित्र पहिलादेखि नै गुट चलाउँदै आएका ओलीले कुनै दिन कम्युनिस्ट आन्दोलन विघटन गर्नसक्ने बताएका छन् । नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीका हर्कतले यस्तै संकेत गरेको बताएका छन् ।
‘ओलीले एक दिन कम्युनिस्ट पार्टी नै विघटन गरिदिएँ भन्न सक्छन्,’ उनले भने । नेपालले ओलीको तानाशाही प्रवृत्तिविरुद्ध चुप नलाग्ने बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भर्याङ बनाएर ओली प्रधानमन्त्री बनेका उनले बताए ।
उनले बजेट र डीपीआर नै नभएका कार्यक्रम शिलान्यास गरेर प्रधानमन्त्री ओलीले भ्रम छरिरहेको बताए । ‘तमासा मात्र गरियो । यत्तिकै स्वीच थिचेर १६५ वटै निर्वाचन क्षेत्रमा सडक शिलान्यास । यो तमासा होइन ? संसारमा कहीँ भएको छ यस्तो ? डीपीआर पनि छैन, कति खर्च लाग्छ भन्ने पनि थाहा छैन,’ उनले भने, ‘बालुवाटारमा बस्यो, स्वीच थिचिदियो, शिलान्यास गर्यो ।’
नेकपा एमाले नेपाल पक्षले काठमाडौंमा वसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी गठन गरेको छ । वरिष्ठ नेता झलनाथ खनाल र नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको छ । बाग्मती प्रदेशसभा सदस्य मानन्धरको नेतृत्वमा बनाइएको कमिटीमा उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की, उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् । कमिटी १६८ सदस्यीय रहेको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।