काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन लामो समयदेखि जारी प्रयास असफल भइरहेका बेला नेपाली राजनीतिले नयाँ मोड लिएको छ ।
प्रतिनिधि सभामा बहुमत जुटाउन निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) गठबन्धन सरकारको नेतृत्व दाबी गर्नुपर्ने पक्षमा उभिएको छ । यसअघि जसपाले ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने चर्चा हुने गरेपनि अब जसपा नै प्रधानमन्त्रीको कुर्सी ताक्न थालेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने’ निर्णय गरेकोमा असन्तुष्टि जनाउँदै जसपाको नेतृत्वमा सरकार बन्नुपर्ने मत अगाडि आएको छ ।
नेकपा माओवादी केन्द्र र जसपाको एउटा खेमाले सरकारको नेतृत्व लिन निरन्तर आग्रह गर्दा समेत अग्रसरता नदेखाएका कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रवार केन्द्रीय कार्यसमितिको बैठक राखेर प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेका थिए ।
कांग्रेसको निर्णय लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल आईतवार जसपा अध्यक्ष महन्थ ठाकुर निवासमा पुगेका थिए । कांग्रेस नेताहरूका अनुसार शुक्रवार नेताहरूबीच भएको छलफलका क्रममा नेता पौडेलले जसपा नेताहरूलाई सहमत गराउन समन्वय गर्ने दाबी समेत गरेका थिए । सभापति देउवाले जसपालाई मनाउन ‘तपाईंको जिम्मा भयो’ भनेकाले पौडेल बिहानै हात्तिवनस्थित ठाकुर निवासमा गएका थिए ।
पौडेलसँगको भेटमा ठाकुरले गठबन्धन सरकार भन्ने तर पहिल्यै आफ्नो दलको नेतृत्वमा भनेर निर्णय गरिएकोप्रति असन्तुष्टि जनाएका छन् । ठाकुरको आशय गठबन्धन सरकारको नेतृत्वमा आफ्नो पार्टीको पनि दाबी रहने भन्ने रहेको जसपा नेताहरूले जनाएका छन् ।
जसपा सांसद राजकिशोर यादवले सरकारको नेतृत्वमा आफूहरूको दाबी स्वाभाविक रहेको बताए । ‘संसदमा कुनै पनि दलको बहुमत छैन, जसपाको नेतृत्वमा सरकार एउटा विकल्प हो,’ उनले भने ।
जसपामा भाबी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष महन्थ ठाकुर हेरिएका छन् । नेपाली कांग्रेसको नयाँ निर्णयपछि कसरी अगाडि बढ्ने भन्नेबारे जसपाभित्र अनौपचारिक छलफल चलिरहेको जनाइएको छ । राजधानी बाहिर रहेका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो काठमाडौं फर्किएपछि बैठक बस्ने जसपाका नेताहरूले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।