काठमाडौं – नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षका नेताहरूले प्रधानमन्त्री केपी ओलीले राज्य सत्ताको दुरुपयोग गर्दै मुलुकमा तानाशाही लाद्ने दुष्प्रयास गरिरहेको आरोप लगाएका छन् ।
ओलीका तानाशाही कदमविरुद्ध देशव्यापी रूपमा संगठित प्रतिवाद गर्न खनाल–नेपाल पक्षले आमकार्यकर्तालाई आह्वान गरेका छन् ।
माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेपछि शुक्रवार बसेको स्थायी कमिटी बैठकले ओलीका कदमको समीक्षा गरेको थियो ।
ओलीले जसरी पनि पार्टी विभाजन गर्ने उद्देश्यले दुरासयपूर्ण ढंगबाट विधानविपरीत गतिविधि गरेको खनाल–नेपाल पक्षको ठहर छ । बैठकपछि निलम्बित ४ सहित स्थायी कमिटीका ११ जनाले शुक्रवार संयुक्त व्यक्तव्य जारी गर्दै ओलीका कदमको भर्त्सना समेत गरेका छन् ।
‘एमालेको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धति मिच्दै केपी शर्मा ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको छ, राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास भइरहेको छ,’ वक्तव्यमा उल्लेख छ, ‘नेपाली जनताले ५ वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै एमाले विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेका छन् ।’
आफैंले गोप्य सम्झौता गरी तत्कालीन माओवादी केन्द्रसँग एकीकरण गरेको र एकता भंग गर्न कोसिस गर्ने ओलीले एमालेलाई समेत विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्न खोजेको आरोप खनाल–नेपाल पक्षको रहेको छ ।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि गरेको विधानविपरीतका क्रियाकलाप रोकेर पूर्ववत् पार्टी कमिटीलाई क्रियाशील बनाउन आग्रह गर्दा ओलीले नमानेको नेताहरूको गुनासो रहेको छ ।
‘पार्टी एकता र कम्युनिष्ट आन्दोलनलाई प्रतिक्रियावादीको षड्यन्त्रपूर्ण प्रहारबाट जोगाउने हाम्रो प्रस्ताव व्यक्तिगत स्वार्थ, अहंकार, अराजकता र कम्युनिस्ट आन्दोलनको बिसर्जनतर्फ उन्मुख ओलीलाई मान्य भएन,’ वक्तव्यमा उल्लेख छ । आफूहरुले गत चैत ४ र ५ गते गरेको राष्ट्रिय भेलाबाट समेत पार्टी एकता जोगाउन आग्रह गरेको तर ओलीले नस्वीकारेको नेताहरूले जनाएका छन् ।
‘प्रधानमन्त्रीको पद र शक्ति प्राप्त भएपछि केपी शर्मा ओलीबाट निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पुर्याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पुर्याउने विभिन्न काम भए,’ वक्तव्यमा उल्लेख छ । नेताहरुमाथि कथित स्पष्टीकरण सोध्दै झुठा लाञ्छनासहित निलम्बन गरिएको भन्दै नेताहरूले कारवाही विधानविपरीत र स्वेच्छाचारी कदम भएको ठहर गरेका छन् ।
‘पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी एमालेलाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुरासयकै निरन्तरता हो,’ संयुक्त वक्तव्यमा उल्लेख छ, ‘ओलीबाट भएका देश, जनता र पार्टीको हितविपरीतका क्रियाकलापविरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकतावद्ध रुपमा संगठित भई सक्रिय हुन आह्वान गर्दछौं ।’
ओलीले नेताहरुलाई कारबाही गर्न थालेपछि खनाल–नेपाल पक्ष अब समानान्तर संरचना बनाएर पार्टीकै रुपमा अघि बढ्ने निष्कर्षमा पुगेको छ । खनाल–नेपाल पक्षले भातृ संगठन, प्रदेश र जिल्ला कमिटीमा आफ्नो संरचना निर्माण गर्न थालेको छ ।
शुक्रवार बसेको बैठकले समेत चैत ४ र ५ गतेको राष्ट्रिय भेलामा प्रस्तुत अवधारणा र त्यसमा आएका सुझावलाई एकीकृत गरेर देशव्यापी रुपमा पठाउने निष्कर्ष निकालेको छ । शनिवार बस्ने बैठकले अवधारणालाई अन्तिम रुप दिने जनाइएको छ ।
राष्ट्रिय कार्यकर्ता भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीका स्वेच्छाचारिताविरुद्ध संगठित रुपमा अघि बढ्नुपर्ने निष्कर्ष समेत निकालेको छ । खनाल–नेपाल पक्षले ओलीसँग कुनै सहमति भइहाल्छ कि भनेर पर्खेको थियो तर ओलीले झन् किनारा लगाउने खालका कदम चालेपछि खनाल–नेपाल पक्षले संगठनात्मक रुपमा आफ्नो शक्ति सञ्चय गर्दै पार्टीको अभ्यास गर्न लागेको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।