काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता जारी राखेका छन् ।
सत्ता साझेदारीका लागि जसपाले अगाडि सारेका माग पूरा गर्न सरकार र जसपा संयुक्त कार्यदलको बैठक बुधवार बसेको थियो । जसपा नेता तथा कार्यदलका सदस्य लक्ष्मणलाल कर्णका अनुसार बैठकमा माग कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
‘अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्ने सहमति भएको छ । अन्य माग पूरा गर्ने विषयमा छलफल भइरहेको छ,’ कर्णले भने, ‘कुरा सकारात्मक रहेको छ ।’
माग सम्बोधन गर्ने विषयमा निर्णायक तहमा छलफल गर्न सरकार र जसपाका शीर्ष नेताहरुबीच चाँडै बैठक बस्ने कर्णले बताएका छन् । आफूहरुले राखेका माग माग पूरा गर्ने प्रतिबद्धता सरकारले गरेको जानकारी कर्णले दिए ।
जसपा नेता केशव झाले समेत सरकारसँगको वार्ता सकारात्मक भएको बताएका छन् । झाले भने, ‘जसले माग पूरा गर्छ, हामीले त्यसैलाई समर्थन गर्छौं ।’
जसपाको समर्थनमा सरकार टिकाउन उसले राखेका माग पूरा गर्ने बारेमा प्रधानमन्त्री ओलीले समेत पटक–पटक शीर्ष नेताहरुसँग कुराकानी गरेका छन् ।
कार्यदलका अर्का एक सदस्यले जसपाका माग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । कार्यदलमा सरकार तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेका छन् ।
जसपाले सत्ता समीकरण गर्नुअघि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्नुपर्ने, मधेश आन्दोलनका क्रममा नेता–कार्यकर्तालाई लगाइएका झूटा मुद्दा खारेज गर्नुपर्ने, घाइतेको उपचार गर्नुपर्ने र संविधान संशोधन गर्नुपर्ने माग राख्दै आएको छ ।
जसपाको समर्थनमा ओली सत्ता टिकाउन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ सत्ता समीकरण बनाउन चाहन्छन् । यसका लागि दुबै नेताले अलग–अलग प्रस्ताव जसपासँग राखेका छन् । दुबैतिरबाट यस्तो प्रस्ताव आएपछि जसपाका शीर्ष नेताहरू मात्र होइन, दोस्रो तहका नेता पनि २ कित्तामा बाँडिएका छन् । डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र उनीहरु निकट नेताहरु माओवादी केन्द्रसँग मिलेर सत्ता साझेदारी गर्नुपर्ने पक्षमा छन् भने महन्थ ठाकुर, राजेन्द्र महतो लगायत नेताहरु ओलीसँग निकट देखिएका छन् ।
सत्ता समीकरणका विषयमा नेपाली कांग्रेसका नेताहरुले पनि जसपासँग भेटघाट र कुराकानी जारी राखेका छन् । माओवादी केन्द्रसँगको कुराकानीमा धेरैजसो जसपाका संघीय परिषद्का अध्यक्ष डा. भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी हुने गरेका छन् भने ओलीसँगको कुराकानीमा जसपाका अर्का अध्यक्ष ठाकुर र नेता महतो सहभागी हुने गरेका छन् । महतो निकटका नेताहरुले जसले माग पूरा गर्छ, उसैलाई समर्थन गर्ने बताएका छन् ।
एक नेताका अनुसार कुराकानीमा प्रधानमन्त्रीले जसपालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । स्रोतका अनुसार जसपा सरकारमा सहभागी भएमा महत्त्वपूर्ण ८ मन्त्रालय दिन प्रधानमन्त्री ओली तयार देखिएका छन् । संवैधानिक आयोगहरुमा रिक्त पदमा भागबण्डा गर्न पनि प्रधानमन्त्री तयार भएको जसपाका अर्का एक नेताले बताएका छन् ।
प्रतिनिधि सभामा जसपाका ३४ सांसद भएकोमा २ जना निलम्बित रहेका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।