काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कारवाही गरेपछि नेता माधवकुमार नेपाल नेता बामदेव गौतमको शरणमा पुगेका छन् ।
नेता गौतमलाई भेट्न नेता नेपाल नागपोखरी पुगेका छन् । नागपोखरीमा दुबैबीच करीब डेढ घण्टा भेटवार्ता भएको छ ।
नेता नेपाल दिउँसो साढे ३ बजेतिर बामदेवलाई भेट्न नागपोखरी पुगेका हुन् । नेताहरुबीच नेकपाभित्र देखिएको विवादका विषयमा कुराकानी भएको जनाइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई कारबाही गरेपछि भएको दुबै नेताबीचको भेटवार्तालाई चासोका साथ हेरिएको छ । पुस ५ गतेयता दुबै नेताको एक्लाएक्लै भेटवार्ता भएको थिएन ।
एमाले पार्टी अध्यक्ष ओलीले नेताद्वय नेपाल र भीम रावललाई कारबाही गरेको विषयमा नेता गौतमले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । गौतम यतिबेला मौन छन् ।
पार्टी अध्यक्ष ओलीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नआएको र पार्टीको हित विपरीत कार्य गरेको भन्दै नेताद्वय नेपाल र रावललाई ६ महिना निलम्बन गरेका छन् ।
अध्यक्ष ओलीले कारबाहीको पत्र लेखेको भोलिपल्ट नेता नेपाल र गौतमबीच भेट भएको छ । नागपोखरीमा गौतमका छोरा हरिशको कार्यालय छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।