काठमाडौं – नेकपा एमाले नेता माधवकुमार नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग २ घण्टा लामो छलफल गरेर कोटेश्वरस्थित एक व्यापारीको घरबाट निस्किँदा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उनलाई कारबाही गरेको पत्रमा सही गरीवरी नेपाल र बंगलादेशको फूटबल हेर्न रंगशालातिर लागेका थिए ।
माले मोरङ, कोअर्डिनेसन केन्द्र हुँदै २०३५ सालमा माले पार्टी बनेयता मुख्य जिम्मेवारीमा एकछत्र रहँदै आएका नेता नेपाललाई पहिलोपटक सोमवार उनको पार्टी एमालेले निलम्बन गरेको छ ।
निलम्बनमा परेसँगै नेपालका अगाडि दुईटा विकल्प छन् – एमालेमा समानान्तर कमिटीहरु बनाउँदै जाने वा ओली नेतृत्वको एमाले पार्टी बाहेकका वामपन्थीहरुसँग मिलेर कम्युनिस्ट पार्टीलाई नयाँ स्वरुपमा स्थापित गर्ने ।
स्पष्टीकरण सोधिएयता नै ओलीले यो कदम चाल्छन् भन्ने विषयमा लगभग निश्चितजस्तै भएका नेपालको गतिविधि यी दुबै विकल्पमा केन्द्रित छ । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भइरहेको बाक्लो संवादको अन्तर्य पनि यही हो । उनीहरुसम्बद्ध स्रोतका अनुसार आगामी राजनीतिको दृश्य भने अझै स्पष्ट भइसकेको छैन ।
‘हालसम्म माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिन्छ र नेकपाको एकतालाई नमान्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन्छ भन्ने निश्चित भइसक्यो,’ नेपालसम्बद्ध स्रोतले भन्यो, ‘तर ओलीलाई समर्थन फिर्ता लिए पनि अविश्वासको प्रस्ताव दर्ता हुन्छ वा हुँदैन भन्ने निश्चित भएको छैन, माधवजीहरुको अबको बाटो त्यसपछि थप क्लियर होला ।’
ओली र नेपालको सहयात्रा भने पछिल्लो घटनाक्रमले बिसर्जनोन्मुख नै देखिन्छ, यसको तात्कालिक असर नेपाललाई परेपनि दीर्घकालीन अप्ठ्यारो एमालेलाई नै हुनेछ ।
अध्यक्ष ओलीले सोमवार ५ बुँदे आरोपसहित नेपाल र एमाले उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेसँगै अदालतले एक ठाउँमा ल्याइदिएको एमाले नेताहरु आफ्नै व्यवहारका कारण थप तितरबितर बन्ने स्थिति आएको छ । ओलीले निलम्बन गरिएको पत्रमा आपराधिक मनोवृत्ति पुष्टि भएको भन्दै नेपाल र रावलमाथि संगीन आरोप समेत लगाएका छन् ।
‘पार्टी एकतालाई बिखण्डन गर्ने, पार्टी फुटाउने, पार्टी भित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुटभेला तथा पार्टीलाई कुभलो चिताउनेहरुसँग निरन्तर बैठक, भेटघाट गर्ने तथा निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुरा उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो,’ ओलीले निलम्बन पत्रमा लेखेका छन्, ‘आफ्नो स्वार्थका लागि देश, जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्याउन तयार भएको आपराधिक मनोवृत्ति थप प्रष्ट रुपमा पुष्टि भएको छ ।’
महासचिव ईश्वर पोखरेलले गत चैत ८ गते सोधेको स्पष्टीकरणको जवाफ नेपाल र रावलले गत बिहीवार दिएका थिए । त्यही दिन ओलीले स्पष्टीकरणमा चित्त नबुझाएर नेपाल र रावल कारबाहीयोग्य भएको टिप्पणी गरिसकेका थिए । पार्टीभित्रको एकता कायम राख्नुपर्छ भन्दै झलनाथ खनाल–नेपाल पक्षका सांसदहरु शुक्रवारको संसदीय दलको बैठकमा पनि सहभागी भएका थिए । तर ओलीले नेपाल र रावलमाथि कारबाहीको डण्डा चलाएपछि एमाले भित्रको विभाजित मानसिकता थप बढेको छ ।
नेता नेपालले अब तल्ला तहसम्म समानान्तर कार्यक्रम हुने र आफ्नो तर्फको संगठन मजबुत बनाउने बताएका छन् । ‘यस्ता धाकधम्कीबाट कोही डराउनेवाला छैन, समानान्तर गतिविधि अघि बढाइन्छ, देशव्यापी रुपमा अघि बढिन्छ, केपी ओलीको तानाशाही प्रवृत्ति र निरंकुशताविरुद्ध लडिन्छ,’ नेता नेपालले भने, ‘चुनौतीहरु छन् तर डराउनु हुँदैन, हाम्रो कमिटी बलियो बनाउँछौं ।’
ओलीले आफ्ना पुराना सहयात्रीलाई सच्चिनका लागि अन्तिम मौका हो भन्दै लेखेको निलम्बन पत्रमा समानान्तर गतिविधि गरे थप कडा कारबाही गर्ने चेतावनी पनि दिएका छन् । ‘आपराधिक क्रियाकलाप स्वीकार्ने, भूल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर उन्नति तथा विकासका लागि समाहित हुनुका साथै विगतमा भए गरेका गलत तथा आपराधिक क्रियाकलापप्रति प्रायश्चित गर्ने अवसरलाई गम्भीरताका साथ लिनुको साटो उल्टै स्पष्टीकरण सोध्नेजस्तो अनाधिकृत र हाँस्यास्पद काम गरेको देखियो,’ ओलीले निलम्बन पत्रमा लेखेका छन्, ‘अहिले पनि पार्टीविरोधी, फाटोवादी र गुटगत कामहरु नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनमा निरन्तरता दिइरहनेतर्फ अग्रसरता देखिएको, पार्टीकै लागि एकताकै लागि भन्दै भ्रम फिँजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनसायका निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएको छ ।’
एकलौटी निर्णय गर्दा ओलीले आफैंले नेतृत्व गरेको पार्टी एमाले आउँदो दिनमा झन कमजोर बन्ने सम्भावनालाई भने नकारेका छन् । विश्लेषक विष्णु सापकोटा यही हिसाबमा अहिलेकै परिस्थितिमा हेर्दा ओली नेतृत्वको एमाले थप कमजोर बन्दै जाने आकलन गर्छन् ।
‘माधव नेपाल भनेको एक हिसाबमा आधा एमाले हो । निलम्बन पत्रले ओली कुन हदसम्म बदलाको भावले परिचालित हुन सक्छन् भन्ने देखाउँछ । अहिले केन्द्रीय कमिटीको पूर्ण बैठक समेत छलेर प्राविधिक रुपमा हतारहतार कारबाही भनिएको छ । पार्टीमा अन्तर संघर्ष हुन्छ तर यो कारबाही हामी बाहिरबाट हेर्नेहरुका लागि पनि क्रूर देखिन्छ,’ सापकोटाले भने, ‘अब वातावरण यस्तो बनाइएको छ कि यो त अति भयो भनेर कोही बोल्न सक्छन् जस्तो लाग्दैन । अब बोल्नु भनेको योभन्दा कठोर सजाय भोग्नुपर्छ भन्ने पार्न खोजिएको छ । तर पनि समयको कुरा हो, ओलीको विरुद्ध भित्रैबाट विद्रोह पनि हुन सक्छ । नभए ओली एमाले खिरिलो हुँदै सकिँदै जाने नै हो ।’
सापकोटाले भनेजस्तै अरु कडा कारबाही गर्ने संकेत ओलीले निलम्बन पत्रमा पनि दिइसकेका छन् । ओलीको निर्णयअनुसार नेपाल र रावल ६ महिनाका लागि पार्टीको साधारण सदस्य समेत रहने छैनन् । गत पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि विभक्त नेकपाको दाहाल–नेपाल खेमाले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका थिए ।
सर्वोच्च अदालतको फैसलापछि विभाजित पार्टीमा गतिविधि गरिरहेको नेपाल खेमाले एमालेमै रहने निधो गरेको थियो । त्यसलाई कतिपयले सांसद पद जोगाउनका लागि राजनीतिक सिद्धान्तसँग सौदाबाजी गरेको भनेर व्याख्या गरेका छन् । नेपाल पक्षीय एमालेकै नेताहरुबीच अब कसरी अघि बढ्ने भन्नेमा समेत एकमत भएन । अध्यक्ष ओलीले बोलाएको संसदीय दल बैठकमा जाने कि नजाने भन्नेमै मत बाझिँदा कतिपय सांसद आधा बाटोमा पुगेर समेत फर्किए । तर पछिल्लो संसदीय दलको बैठकमा उपस्थित सांसदहरुले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने राय राखेका थिए ।
एकताका लागि ओलीले फागुन २८ गते गरेका निर्णय फिर्ता हुनुपर्ने माग थियो । तर प्रधानमन्त्री ओली झन कठोर देखिए, उनको कठोरपनको अर्को पटाक्षेप सोमवार भएको छ । ओलीनिकट स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टी नेतृत्व र बहुमत दुबैमा ओली नै रहेकाले एकता जोगाउन चाहने नेताले जता पनि निहुँ खोज्दै हिँड्न नहुने बताए । ‘हरेक आन्दोलन फेरि उस्तै हुन त गाह्रो हुन्छ नि ! शत्रुतापूर्ण ढंगले लागेकाहरुलाई एक ठाउँमा बस्न समस्या पनि भयो होला । हामीले उहाँहरुसँग धेरै पूर्वाग्रह राख्नु हुँदैन, उहाँहरुजस्तो मान्छेले सानो सानो कुरामा निहुँ खोज्नु हुँदैनथ्यो,’ गुरुङले भने, ‘आन्दोलनमा ढंग पुर्याउनुपर्छ ।’ गुरुङले निलम्बन पत्रमार्फत सचेत मात्रै गराइएको बताएका छन् ।
प्रतिनिधि सभालाई असंवैधानिक तरिकाले विघटन गर्नुअघि ओलीले नेतृत्व गरेको नेकपामा भाँडभैलो थियो । ओलीले चाहेकै कुरा हुने सम्भावना एकदमै न्यून थियो तर पुस ५ गतेपछि ओलीका कदममा हस्तक्षेप र नियन्त्रण गर्नेहरु भएनन्, ओलीले पार्टीमा चाहेको निर्णय फटाफट गर्न पाए । उनी यही शैलीमा अभ्यस्त भइरहेका बेला अदालतले एमाले ब्युँतायो । ओलीले नेतृत्व गरिरहेको एउटा पंक्ति अदालतको निर्णयबाट खुशी भयो, त्यो खुशी हुनेहरुको समूहमा ओली छुट्ने कुरै थिएन । तर बाटो मोडिसकेका नेपाललगायत नेता पनि आफूसँग हुनुलाई ओलीले तगारोका रुपमा लिए, नेपालले पनि एमालेमा ओलीसितै रहन अप्ठ्यारो माने । फलस्वरुपमा यी दुबैको नेतृत्वमा पार्टीभित्र समानान्तर गतिविधि हुन थाल्यो । त्यसैलाई आधार मानेर ओलीले नेपाल र रावललाई कारबाही गरेका छन् ।
उपाध्यक्ष रावलले विदेशी शक्तिको आडमा नेकपा विघटन गरेका ओलीले एमाले पनि विघटन गर्न लागेको बताएका छन् । ‘ओलीले पहिलो चरणमा नेपालको संविधान र आफैंले हस्ताक्षर गरेको कम्युनिस्ट पार्टीबीचको एकतामाथि प्रहार गर्नुभयो, दोस्रो चरणमा गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गराउनुभयो । तेस्रो चरणमा पार्टी विधान कुल्चँदै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको हाकिमको कुर्सीमा बसेर ४ जना नेतालाई कथित स्पष्टीकरण पत्र पठाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टीबाट निलम्बन गरेको आदेश फर्माउनुभयो,’ रावलले भने, ‘यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन विरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य हो । देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रतिको तावेदारी हो ।’
नेपाल र रावल सहितका नेताहरुले गत कात्तिक पहिलो हप्ता भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँगको भेटपछि ओलीले मुलुकको संविधान, संसद र कम्युनिस्ट पार्टी तहसनहस पार्न सकेजति प्रयास गरिरहेको आक्षेप लगाएका छन् । एमालेमा यसअघि पनि यस्ता खाले अन्तरसंघर्ष नभएका होइनन् । अन्तरसंघर्ष र नेताहरुको निजी कुण्ठाका कारण आसलाग्दो भनिएका नेताहरुको अन्त्य अत्यास लाग्दो देखिएको छ । २०३५ सालमा कोअर्डिनेसन केन्द्रको महासचिव भएका बेला सीपी मैनालीलाई कम्युनिस्ट नेताहरु दक्षिण एशियाकै ताराका रुपमा व्याख्या गर्थे । पछि मोहनचन्द्र अधिकारीलाई नेल्सन मन्डेलाको उपाधि दिएका थिए ।
पार्टीभित्रकै छिनाझपटीले यी नेताहरुको ओज पछिसम्म बाँकी रहेन । बहुदलीय अभ्यास थालेपछि प्रायः एउटै समूहमा रहने नेपाल र ओलीको बाटो २०६० सालदेखि अलग्गिँदै आएको हो । कुनै बेला नेपालले एमाले चलाउँदा ओलीले मदन भण्डारी फाउन्डेसनमार्फत समानान्तर पार्टी नै चलाएका थिए । विश्लेषक हरि रोक्काले पछिल्ला गतिविधिले एमालेलाई बिसर्जनकै बाटोतिर धकेलेको बताए । ‘ओलीतिर लागेका कसैले पनि संगठन बनाएका होइनन् । अर्कातिर माधव नेपालको पनि कमजोरीका कारण एमाले अप्ठ्यारोमा परेको हो । त्यति हुँदाहुँदै पनि पार्टीको मूल जरोमा त माधव रहन्छन्,’ रोक्काले भने, ‘पछि के हुन्छ, समयले निर्धारण गर्ला ।’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।