काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गर्ने पत्राचार गरेपछि नेता माधवकुमार नेपालले देशभरका नेता कार्यकर्तासँग हारगुहार गर्दै अपिल गरेका छन् ।
नेता नेपालले अध्यक्ष ओलीको तानाशाही कदमविरुद्ध जुध्न र क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई अपिल गरेका छन् ।
नेपालले अध्यक्ष ओलीको निर्णय चरम असहिष्णु भएको प्रतिक्रिया दिए । एमाले अध्यक्ष ओलीले सोमवार नेता नेपाल र भीम रावललाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरिएको पत्र पठाएका छन् ।
केपी ओली एमालेलाई छिन्नभिन्न बनाउने योजनासहित अघि बढेको र विधि र विधानसँग कुनै मतलब नभएको नेता नेपालले बताएका छन् । ‘फागुन २८ गते पार्टी विधानको विपरीत चल्नुभएको छ, त्यसबाट नै उहाँको नियत छर्लंग भएको छ,’ नेपालले भने ।
अध्यक्ष ओलीको कदमविरुद्ध उत्रिन नेता नेपालले आह्वान गरेका छन् । ‘देशभरका कार्यकर्तालाई उच्च मनोबलका साथ केपी ओलीको तानाशाहीको विरुद्धमा जुध्नका लागि र क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न आह्वान गर्छु,’ उनले भनेका छन् ।
ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट नै ६ महिनासम्म निलम्बन गरेपछि राजनीतिक वृत्तमा उथलपुथल मच्चिएको छ ।
कारवाहीको निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया जनाउँदै नेता रावलले ‘केपी शर्मा ओलीको तानाशाही निर्णय अस्वीकार्य’ रहेको जनाएका छन् ।
यस्तो छ नेता रावलको प्रतिक्रिया –

पार्टी अध्यक्ष ओलीले सोमबार पत्र पठाउँदै नेपाल र रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको जानकारी दिएका छन् । यसअघि एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपाल, रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी विधान विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेका थिए ।
स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै ओलीले नेपाल र रावलमाथि कारवाही गरेका छन् । नेता नेपाल र रावलले स्पष्टीकरणको जवाफमा प्रतिप्रश्न गर्दै ओली स्वयं पार्टी विधि, विधान र संविधानको खिलाफमा गएकाले ओली कारवाहीको भागिदार किन नबन्ने भनेर जिज्ञासा राखेका थिए ।
ओलीले कारवाही गरेपछि नेता नेपाल तुरुन्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पुगेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच सोमबार भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र नेता नेपालबीच सोमवार दिउँसो करीब २ घण्टा कोटेश्वरस्थित एक घरमा भेटवार्ता भएको छ । त्यसअघि नै ओलीले नेपाललाई कारवाही गरेको पत्र पठाएको स्रोतले जनाएको छ ।
यस्तो छ माधव नेपाललाई पठाइएको निलम्बन पत्र –


नेता नेपाललाई कारवाही गर्दै एमालेबाट लखेटिएपछि अब के गर्ने भन्नेबारे रनभूल्ल रहेका छन् । माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । राजनीति अन्योल अवस्थामा रहेको बेला ओलीले नेता नेपालमाथि कारवाही गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि एमाले नेता नेपाल पक्ष र प्रचण्ड पक्षले मिलेर सरकारविरुद्ध आन्दोलन गरेका थिए । त्यसकै रिसइबीले ओलीले नेता नेपालमाथि कारवाही भएको चर्चा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।