काठमाडौं – नेकपा एमाले संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदमाथि अर्काे आपत आइलागेको छ ।
मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमाले सांसदमाथि कारवाही प्रक्रिया अगाडि बढाउन चैत १८ गते प्रदेशसभा संसदीय दलको बैठक बोलाएपछि आपत आइलागेको हो ।
करीब ४ महिना अघिदेखि पार्टीका सांसदको अविश्वास प्रस्ताव प्रदेश सभामा विचाराधीन रहेका बेला पौडेलले दलको बैठक बोलाएका छन् ।
बैठकले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन अष्टलक्ष्मी शाक्य समूहलाई औपचारिक रुपमा निर्देशन दिने जनाइएको छ । तत्कालीन नेकपाको प्रचण्ड–माधव समूहका सांसदले शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल हुन सकेको छैन । अब नेकपा एमाले पुनःस्थापित भइसकेको अवस्थामा अविश्वास प्रस्ताव फिर्ता लिनेबारे माधव नेपाल समूहले छलफल गरिरहेको जनाइएको छ । यसअघि प्रचण्ड–माधव समूहले संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर शाक्यलाई चयन गरेको थियो ।
संसदीय दलको बैठकमा माधव नेपाल समूहको सहभागिता निश्चित भइसकेको छैन । बाग्मती प्रदेशको ११० सदस्यीय प्रदेश सभामा नेकपा एमालेको एकल बहुमत रहेको छ । दलको बैठकपछि प्रदेश सरकारमा नयाँ मन्त्रीहरु नियुक्त गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
यसअघि ३ जना मन्त्रीहरू शालिकराम जमकट्टेल, युवराज दुलाल र अरुण नेपालले राीजनामा दिएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावक अरुण नेपाल एमालेका नेता रहेका छन् ।
बाग्मती प्रदेश सरकारमा अर्थमन्त्री कैलाश ढुंगेल, भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाल र उद्योग पर्यटनमन्त्री दावादोर्जे लामा रहेका छन् । अबको मन्त्रिपरिषद् विस्तारमा महिलासहित कम्तीमा ५ जना नयाँ मन्त्री थप्ने तयारी भइरहेको जनाइएको छ ।
यसअघि १ नम्बर प्रदेशमा अविश्वास प्रस्ताव कायम रहेकै अवस्थामा मुख्यन्त्री शेरधन राईले मन्त्रिपरिषद् पुनर्गठन गरेर माओवादी र माधव नेपाल समूहका सांसदलाई मन्त्री बनाइसकेका छन् । मुख्यमन्त्री पौडेल अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेता हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।