काठमाडौं – नेकपा एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सर्वोच्च अदालतको फैसलापछि पार्टीभित्र भएका निर्णय फिर्ता लिन माग गरेपनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कसैका कुरा सुनेनन् ।
ओलीले यसअघिका बैठकले गरेका कुनै पनि निर्णय फिर्ता नलिन अडान दोहोर्याएका छन् ।
दलको बैठकमा बोल्दै नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनाल, सांसदहरू घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले प्रधानमन्त्री ओलीले पार्टी एकताबद्ध बनाउन ऐतिहासिक भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको बिन्ती गर्दै २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
बैठकमा सबैका गुनासा र आलोचना सुन्ने तर गुटगत आधारमा आउने कुरा स्वीकार्य नहुने भन्दै अध्यक्ष ओलीले कुनै पनि निर्णयबाट पछाडि नहट्न बताएका एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले बताएका छन् ।
‘केही साथी अनुपस्थित भएपनि सबै बैठक विधिसम्मत भएका छन्,’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै नेता भट्टराईले भने, ‘फागुन २८, चैत ५ र ७ गतेका निर्णयबाट पछाडि फर्किन सकिँदैन ।’
प्रधानमन्त्री ओलीले विधान संशोधन भइसकेकाले तत्काल परिमार्जन गर्न नसकिने समेत प्रस्ट पारेका छन् । ओलीले आवश्यक पर्दा संशोधन गर्न सकिने भए पनि तत्काल त्यो सम्भव नभएको दाबी गरेको भट्टराईले बताएका छन् ।
‘विधानलाई केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको अवस्था हो । विधानलाई आवश्यक परे संशोधन गर्न सकिन्छ तर अहिले नै परिमार्जन गर्न सक्ने अवस्था छैन,’ ओलीले बैठकमा भने ।
बैठकमा ओलीले गुटगत ढंगले कसैसँग डिल नगर्ने बताएका छन् । व्यक्तिगत रूपमा गुनासा र आलोचना सुन्ने तर गुटगट ढंगले आएका विषयको सुनुवाइ नहुने समेत बताइएको छ ।
‘हाम्रो पार्टीमा समूहगत र गुटगत हिसाबमा डिल कसैसँग पनि गर्दैनौं,’ ओलीको भनाइ भट्टराईले भने, ‘व्यक्तिगत रूपमा आलोचना र गुुनासा सुन्न तयार छौं । त्यसका लागि सचेतक, उपनेता र दलको नेतालाई भन्नुहोस् तर गुटगत हिसाबले छलफल र कुराकानी नहुने जानकारी गराउनुभएको छ ।’
एमालेको खनाल–नेपाल पक्षले भने सर्वाेच्च अदालतको फैसलापछि भएका निर्णयहरू फिर्ता हुनुपर्ने माग गर्दै आएको छ । तर ओलीले कुनै माग नसुन्ने अडान दोहोर्याएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।