काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपाल लगायतका नेताहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीवार बुझाएको जवाफीपत्रले समस्या समाधान गर्नुभन्दा झनै बल्झाउने स्थिति देखिएको छ ।
एमालेको केही दिनअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टी अनुशासन विपरीत काम गरको भन्दै ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
सोहीबमोजिम पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिनुको साटो नेता नेपाल लगायतका नेताहरुले उल्टै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई गम्भीर आरोप लगाउँदै पत्र लेखेपछि पार्टी फुटको संघारमा पुगेको हो ।
स्पष्टीकरणको जवाफपछि पार्टी एक हुनसक्ने आशामा रहेका आमकार्यकर्ता नेपाल लगायतका नेताहरुको जवाफपछि असन्तुष्ट र निराश बनेका छन् । यससँगै अब ओली–नेपालको सम्बन्ध टुट्ने अवस्थामा पुगेको छ ।
नेपालको जवाफी पत्रपछि उनीमाथि थप कारबाही हुने प्रधानमन्त्री निकट स्रोतले बताएको छ । ‘नेपालहरुले पार्टीबाट अलग हुने मनसायका साथ अध्यक्षलाई अराजनीतिक आरोप लगाउँदै पत्र लेखेका छन्, त्यसैले उनीहरुमाथि अनुशासन उल्लंघनमा कठोर कारबाही हुनेछ,’ अध्यक्ष ओलीनिकट एक नेताले भने ।
यसअघि नेकपामा रहँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष ओलीमाथि १९ बँुदे ‘अराजनीतिक’ आरोप लगाएका थिए । त्यही आरोपपछि नै पार्टीमा विभाजनको रेखा कोरिएको थियो । अहिले एमालेका नेता नेपालले पनि सोही प्रकृतिकै आरोप सहितको जवाफीपत्र लेखेपछि ओली–नेपाल सम्बन्ध करीब–करीब तोडिने अवस्थामा पुगेको छ ।
अध्यक्ष ओलीलाई कडा जवाफ दिँदै नेता नेपालले ‘विधानअनुसार तपाईंलाई कारवाही किन नगर्ने ?’ भन्दै प्रतिप्रश्न गरेका छन् । स्पष्टीकरणको जवाफ दिँदै नेपालले बुझाएको पत्रमा आफूलाई स्पष्टीकरण सोध्नु अवैध कार्य भएको दाबी गरेका छन् । ८ पृष्ठ लामो पत्रमा १३ बुँदे जवाफमा नेपालले ओलीलाई नै कारवाही भोग्नुपर्ने चेतावनी समेत दिएका छन् ।
नेता नेपालले नेकपाबाट एमालेमा फर्कनुपर्दाको अवस्थाप्रति आक्रोश पोखेका छन् । ‘निर्वाचन आयोगले ‘पार्टी एक हुने भए १५ दिनभित्र निर्वाचन आयोगमा आउनू’ भनी दिएको सूचनाबारे केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई तपाईंले छलफल किन गराउनुभएन ?’ नेपालले दिएको स्पष्टीकरण–पत्रमा प्रश्न गरिएको छ ।
‘गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामको राजनीतिक दल नरहने भएकाले साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः मिल्ने भए निर्वाचन आयोगमा जानू भनी गरेको फैसला तथा सोहीअनुरुप निर्वाचन आयोगले पार्टी एक हुने भए १५ दिनभित्र निर्वाचन आयोगमा आउनु भनी दिएको सूचनाबारे केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई तपाईंले छलफल किन गराउनुभएन ? यसरी नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक नबोलाइएबाट सर्वोच्च अदालतको फैसलाको अवज्ञा हुनुका साथै नेपालको कम्युनिस्ट आन्दोलनलाई विभाजित बनाइ राख्ने तपाईंको गलत मनसाय रहेको छ किन नभन्ने ?’ नेपालले उल्टै प्रश्न गरे ।
नेता नेपाललगायत अन्य नेताहरु रावल, भुसाल र पाण्डेले पनि जवाफमा उल्टै अध्यक्ष ओलीमाथि प्रश्न तेर्स्याएका छन् ।
‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधान र नीति विपरीत तपाईंले उक्त प्रकार अनाधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रूपमा भएका काम र तपाईं स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईंको व्यक्तिवादको अभिव्यक्ति मात्र हो भनी किन नभन्ने ?’ नेपालले पत्रमा लेखेका छन्, ‘यदि तपाईंको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्वसन्ध्यादेखि प्रतिनिधिसभाको विघटनसम्मको अवधिमा तपाईंले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाईं नै उहाँको सबैभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ?’ नेपालले प्रश्न गरेका छन् ।
एमाले नेता नेपालको आफ्नै अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध टुट्ने अवस्थामा पुगेको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ सँगको सम्बन्ध भने अझै गाढा देखिएको छ । नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच बिहीवार छलफल भएको छ । २ नेताको छलफलमा फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र छुटिएकोमा पुनरावलोकनमा जाने सहमति भएको छ ।
यसअघि नेकपामा रहँदा पनि नेपाल र प्रचण्ड मिलेर ओलीविरुद्ध मोर्चाबन्दी कसेका थिए । ओलीलाई नेकपाको साधारण सदस्यताबाट हटाएका नेपाल र प्रचण्ड पुनः पार्टी एकता कायम गराउने कसरतमा जुटेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।