काठमाडौं – नेकपा एमाले वरिष्ठ नेता झलखनाथ खनाल र माधवकुमार नेपाल पक्षले आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बैठक भोलि शुक्रवार बिहान ११ बजेका लागि तय भएको नेता युवराज ज्ञवालीले बताएका छन् । ‘हाम्रो पक्षका नेताहरू जो काठमाडौंमा उपलव्ध छन्, उहाँहरुसँग छलफल गर्न बैठक बोलाइएको हो,’ उनले भने, ‘धेरै सदस्यहरू त जिल्लामा हुनुहुन्छ, उपत्यकामा हुने जतिलाई खबर गरिएको छ ।’
उनले बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताएका छन् । ‘पार्टी अहिले अप्ठ्यारो अवस्थामा छ । पार्टी एकतालाई कसरी जोगाउने र कसरी अघि बढ्ने भन्ने नै छलफलको एजेण्डा हो,’ उनले भने ।
यसअघि खनाल–नेपाल पक्षले बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठक बहिष्कार गरेको थियो । ओलीले फागुन २३ गतेपछि एक पक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरूको जिम्मेवारी खोसेको भन्दै खनाल–नेपाल पक्षले समानान्तर गतिविधि गर्दै आएको छ ।
राष्ट्रिय कार्यकर्ता भेला, जनवर्गीय संगठनको बैठक लगायतका गतिविधि गरको खनाल–माधव पक्षले अब चाँडै जिल्ला–जिल्लामा पनि समानान्तर संगठन निर्माणको तयारी समेत गरिरहेको छ ।
बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित ४ जनालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्न गरेको निर्णयअनुसार नेताहरूलाई सोमवार पत्र पठाएर स्पष्टीकरण सोधेको छ ।
ओली पक्षले सोधेको स्पष्टीकरणमा प्रतिप्रश्न गर्दै जवाफ दिने तयारीमा नेताहरू छलफलमा जुटेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।