काठमाडौं – जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार साँझ जसपाका नेताहरूसँग कुराकानी गरेका छन् ।
जसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
‘मधेश आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा कसरी फिर्ता लिन सकिन्छ भन्ने विषयमा प्रष्ट कुराकानी भयो,’ उनले भने, ‘कुनै मुद्दा अदालती प्रक्रियाबाट फिर्ता लिनुपर्ने हुन्छ भने कुनै मुद्दा जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता लिए पुग्छ ।’
भेटमा रेशम चौधरीको रिहाइ कुन प्रक्रियाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको स्रोतको दावी रहेको छ ।
भेटमा प्रधानमन्त्री ओलीले जसपाका नेताहरूलाई सरकारमा आउन आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीले सरकारमा आउनुहोस्, तपाईंहरूले उठाएका माग पूरा गर्छु भन्नुभयो,’ महतोले भने, ‘तर हामीले माग पूरा गर्नुभयो भने मात्र सरकारमा सहभागी हुने विषयमा छलफल गर्छौंं भन्यौं ।’
स्रोतका अनुसार जसपा सरकारमा सहभागी भएमा महत्त्वपूर्ण ८ मन्त्रालय दिन प्रधानमन्त्री तयार भएका छन् । महतोले भने यसबारेमा कुराकानी नै नभएको दावी गरेका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।