काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकटको साँठगाँठ रहेको मानिएका यतिका मालिकको पारिवारिक प्रतिष्ठानले बस्न नदिएपछि नेकपा एमाले पार्टी कार्यालय थापाथली सर्दैछ ।
२०७२ साउन २३ गतेदेखि धुम्बाराहीस्थित पासाङल्यामू स्मृति प्रतिष्ठानमा एमाले केन्द्रीय कार्यालय रहेको छ । प्रतिष्ठानले घर खाली गर्न भनेपछि अब एमाले पार्टी कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा सर्न लागेको छ ।
एमाले अध्यक्ष ओलीले आज बुधबार पार्टीको नयाँ कार्यालय भवनको निरीक्षण समेत गरेका छन् । एमालेको पार्टी कार्यालय थापाथलीस्थित सञ्जय अग्रवालको घरमा सर्न लागेको हो ।
आजै बुधबार अग्रवालसँग एमोलेले सम्झौताको तयारी गरेको छ । पार्टीको कार्यालय सार्नेसम्बन्धी सबै कामको नेतृत्व उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पाएका छन् ।
२०७२ सालको भूकम्पमा बल्खुस्थित पार्टीको भवन भत्किएपछि यतिका मालिकको प्रतिष्ठानको नाममा रहेको धुम्बाराहीस्थित घरमा पार्टी कार्यालय सारिएको थियो ।
गत शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले आगामी बैशाख ९ गते पुरानो कार्यालय भवन रहेको बल्खुमै नयाँ भवन शिलान्यास गर्ने निर्णय समेत गरेको छ । भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय पुनः बनाउने निर्णय गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।