काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले सोमबार स्पष्टीकरण सोधेकै दिन छलफल गरेर माधव नेपाल पक्षले लिखित जवाफ दिने निर्णय गरेको छ ।
ललितपुरमा सोमवार सम्पन्न झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने निर्णय गरिएको हो ।
‘महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको पत्र प्राप्त भएको छ, भोलिसम्म यसको लिखित जवाफ तयार हुन्छ,’ खनाल–नेपाल पक्षका एक नेताले भने ।
गत चैत ७ गते बालुवाटारमा अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकले नेता माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम महासचिव ईश्वर पोखरेलले आज सोमबार पत्राचार गरेका थिए ।
पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेको भन्दै ओली पक्षले माधव पक्षका नेताहरूलाई कारवाही किन नगर्ने भन्दै ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएका छन् ।
यस्तो छ घनश्याम भुसाललाई सोधिएको स्पष्टीकरण –
श्री घनश्याम भुसाल,
सदस्य,
दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी, नेपाल कम्युनिस्ट पार्टी (एमाले) कार्यालय
तपाईं, घनश्याम भुसालले हामो पार्टी विधानविपरीत पार्टी तथा पार्टी नेतृत्वको सरकारविरुद्ध देहाय बमोजिमका क्रियाकलापहरुमा नेतृत्व र अगुवाइ के कति कारणले गर्नुभएको हो ?
१. तपाईंले साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा ‘१९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप तयार गर्न, पार्टी विधानको व्यवस्थाविपरीत छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनधिकृत रुपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हितविपरीत कार्य गरेको र गराउनु पर्नाको कारण के हो ?
२. पार्टी अध्यक्ष र महासचिवद्वारा मिति २०७७ चैत ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिह्न र झण्डाको दुरुपयोग गरी मिति २०७७ चैत ४ र ५ गते कथित राष्ट्रिय भेला गर्न अग्रसरता लिएको, पार्टी कमिटी तथा भातृ संगठनहरुको कथित विभिन्न भेलाहरु गरी समानान्तर संगठन निर्माण गर्दै पार्टी फुटाउने काममा अगुवाइ किन गर्नुभएको हो ?
३. सम्मानित सर्वोच्च अदालतको मिति २०७७ फागुन २३ गतेको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीका दशौं, एघारौं र बाहौं बैठक र संसदीय दलका बैठकहरुमा समेत उपस्थित हुनुको साटो पार्टीको विधान र निर्देशनविपरीत पार्टी र जनसंगठनहरुको नाम, झण्डा र चिह्नको दुरुपयोग गरी गराई कथित राष्ट्रिय कार्यक्रम र भेला तथा विभिन्न नामका कथित भेलाहरु आयोजना गर्न अग्रसरता गरी पार्टी एकता विरोधी प्रस्ताव प्रस्तुत एवं पारित गर्नु र गराउनुको कारण के हो ?
माथि उल्लेखित क्रियाकलापहरुका साथै तपाईले पार्टी हितविपरीत पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको पार्टी विधान तथा निर्णयविपरीत गुटबन्धी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको, पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टीप्रतिको निष्ठा र विश्वासबाट च्यूत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर विभिन्न क्रियाकलापहरु सञ्चालन गरे/ गराएको, पार्टी कमिटीको गोपनियता भंग गरे गराएको, पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षीसँग साँठगाँठ गरे/गराएको, केन्द्रीय जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशन विपरीत विभिन्न कार्यहरु निरन्तर गरिरहेको/गराइरहेको र यस्ता अवाञ्छित क्रियाकलापहरुमा पार्टीका जिम्मेवार व्यक्तिहरुलाई सम्मिलित गराएको/उक्साएको, अवान्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहीत विपरीत काम गरे/गराएको, पार्टीको विधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालना गर्नुपर्ने भनि उल्लेखित कर्तव्यको उल्लंघन गरे/गराएको समेत प्रस्ट देखिएकाले यस्तो क्रियाकलाप निरन्तर गरी/गराई पार्टी हित विपरीत, पार्टीको एकता, अक्षुणता र अग्रगामी कार्यको विरुद्ध पार्टीले राष्ट्रहीत तथा जनहीतका लागि गरिरहेको र गर्नुपर्ने कार्यलाई रोक्ने र पार्टी जीवन तथा समग्र पार्टीमाथि नै आँच आउने गरी पार्टीलाई विभाजनको दिशामा लान यस्ता विभिन्न अनुचित क्रियाकलापहरु गरे/गराएको देखिएकोले त्यस्ता विभिन्न क्रियाकलापहरु के कति कारणले निरन्तर गर्नु/गराउनु भएको हो ?
मिति २०७७ चैत ७ गते सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बाहौं बैठकको निर्णय बमोजिम माथि उल्लेखित विषयहरुमा तपाईंले पार्टी विधानको ४९ (क) को १, २, ३, १० र १४ को उल्लंघन गरेको सप्रमाण देखिएकोले तपाईलाई पार्टी विधान बमोजिम कारबाही किन नगर्ने ? यस सम्बन्धमा माथि उल्लेखित सबै विषयहरुमा स्पष्ट पार्न तपाईलाई ३ दिनको समय दिइएको छ । ३ दिनभित्र स्पष्टीकरणसहित लिखित जवाफ प्रस्तुत नगरेमा पार्टीको विधान र नियमावली बमोजिम कारवाही हुने व्यहोरा अवगत गराइन्छ ।
ईश्वर पोखरेल,
महासचिव
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।