काठमाडौं – नेकपा एमाले संसदीय दलको बैठकले छुट्टै गुटगत भेला गर्ने वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका अगुवा नेता–कार्यकर्तालाई कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले संसदीय दलको बैठकले पार्टीभित्र गुटगत भेला र अराजक प्रवृत्ति किमार्थ स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
बैठकपछि पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङले एमाले संसदीय दलको बोर्डमार्फत पार्टीभित्र गुटगत भेला गर्ने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए ।
‘बोर्डको बैठकबाट पार्टीभित्र गुटगत प्रवृत्ति र गतिविधि रहेका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय संसदीय दलको बैठकबाट भएको छ,’ उनले भने, ‘पार्टीका सबै सदस्यले वैयक्तित रुपमा गतिविधि गर्न पाउँछ, समूह बनाएर समानान्तर गतिविधि सञ्चालन गर्न पाइने छैन ।’
बोर्डले स्पष्टीकरण सोध्नु भनेको कारवाही प्रक्रिया अगाडि बढाउनु हो । स्पष्टीकरण चित्तबुझ्दो नभए कारवाहीको निर्णय हुनसक्ने स्रोतले जनाएको छ । बिहीबारको दलको बैठकबाट ओलीले २४ सदस्यीय संसदीय बोर्ड गठन गरिसकेका छन् ।
प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा ओलीले कुनै गुटको नभई व्यक्तिगत रूपमा मात्र कुरा सुन्ने बताएका जनाएका छन् । ‘संसदीय दलको नेताले वैयक्तिक रूपमा उठाउन आउने कुरा सुन्छु, गुटगत रूपमा कुनै कुरा सुन्दिनँ भन्नुभएको छ । गुटको अस्तित्व स्वीकार्य हुँदैन भन्नुभएको हो,’ उनले भने ।
यसैबीच, पार्र्टी संसदीय दल बोर्डमा सांसद संख्या बढाउनेसहित नयाँ व्यवस्थासहित नेकपा एमालेले संसदीय दलको विधान पारित गर्ने निर्णय भएको छ ।
संसदीय दलको बैठकले परिमार्जनसहित विधान पारित गरेको मुख्य सचेतक विशाल भट्टराईले बताएका छन् । बोर्डले सांसदलाई कारवाही प्रक्रिया अगाडि बढाउने गर्छ ।
आजै शनिबार नै बस्ने केन्द्रीय समिति बैठकले विधान अनुमोदन गर्ने भट्टराईले बताएका छन् । ‘नेपालको संविधान, एमालेको विधान र राजनीतिक दल सम्बन्धी ऐन अनुकूल हुने गरी विधान संशोधन गरेका छौं,’ उनले भने, ‘नयाँ व्यवस्थामा २७ सदस्य रहेको संसदीय बोर्डमा सदस्य संख्या २९ जना पुर्याउने र एकतिहाइ महिला रहने व्यवस्था गरिएको छ ।’
दलको विधानमा संसदीय दलको उपनेता नेताले मनोनयन गर्ने व्यवस्था समेत गरिएको छ । यसअघि संघीय संसदका दुबै सदनका सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था भएकोमा संशोधन गरेर प्रतिनिधि सभाका सांसदले मात्र चयन गर्ने जनाइएको छ ।
प्रधानमन्त्री ओलीले छुट्टै भेला गर्ने माधवकुमार नेपाल पक्षीय अगुवालाई कारवाही गर्न विधान संशोधन लगायत विधि र प्रक्रिया मिलाउन थालिएको जानकारी दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।