काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्र एक भएपछि बनेको नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक जेठ ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो । त्यसपछि झण्डै डेढ वर्ष केन्द्रीय कमिटी बैठक बसेन ।
अहिले अस्तित्वमा नरहेको नेकपाले उसको जीवनको अधिकांश आरोह–अवरोह प्रधानमन्त्री निवास बालुवाटारमै झेल्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रधानमन्त्री ओलीले हठात प्रतिनिधिसभा विघटन गर्दा विघटनकै संघारमा पुगेको नेकपाको बैठक बालुवाटारमै बसेको थियो । फुटको सुरूआत त्यहीँबाट भयो ।
त्यसपछिका ३ महिनामा नेकपाको सरकार, सिंगो पार्टी र मुलुकले अनेकन उतारचढाव व्यहोरे । नेकपा पार्टी नै रहेन । एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको प्रयोगको हद कति हो भन्ने बहस पनि ब्युँतिएको छ ।
३ महिनामा प्रधानमन्त्री ओलीले जन्म दिनमा गरेको सांगीतिक साँझदेखि चियापानसम्मको कार्यक्रमलाई नजरअन्दाज गरेको एमालेको खनाल–नेपाल पक्षले शनिवारका लागि अध्यक्ष ओलीले बालुवाटारमै आह्वान गरेको पार्टी संसदीय दल र केन्द्रीय कमिटीको बैठक अस्वीकार गरेको छ । जबकि प्रधानमन्त्री भएको ३ वर्षमा ओलीले धेरै कार्यक्रम र बैठक बालुवाटारबाटै गरेका छन् ।
नेकपा एमालेको खनाल–नेपाल पक्षले बैठक बस्ने स्थानमै अडान राखेपछि बालुवाटार विवादले अरु सैद्धान्तिक बहसलाई पछि पार्ने देखिएको छ ।
प्रधानमन्त्री ओलीले यसअघि गत चैत २ गते बालुवाटारमै बोलाउँदा वरिष्ठ नेता माधवकुमार नेपाल सरकारी निवासमा जान नमानेपछि उनीहरुको संवाद पार्टी कार्यालय धुम्बाराहीमा भएको थियो । पार्टी पदाधिकारीसहित भएको संवाद झन् तिक्त बनेपछि खनाल–नेपाल पक्षले राष्ट्रिय भेला गरेर ओलीलाई सच्याउने र तल्लो तहसम्म समानान्तर कमिटी बनाउने निर्णय गरिसकेको छ ।
समानान्तर कमिटी बनाउने सिलसिलाको निरन्तरता शुक्रवार अखिल नेपाल महिला संघको भेला बोलाएर भइसकेको पनि छ । सांगठनिक रुपमै समानान्तर गतिविधि चलाइरहेको एमालेको खनाल–नेपाल पक्ष बालुवाटारमा बोलाइने बैठकमा नजाने भएपछि एमालेको विवाद लम्बिन्छ नै, राज्यको स्रोत दुरुपयोग गरेर प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीको विवाद किन छताछुल्ल पारिन्छ भन्ने प्रश्न पनि उठिहाल्छ ।
नेकपा एमाले उपाध्यक्ष भीम रावलले संसदीय दलको बैठक दलको कार्यालय या संसद भवन नयाँ बानेश्वरमा बस्ने परम्परा भएको जनाउँदै बालुवाटारमा बोलाइने बैठक आफूहरुले बहिष्कार गर्ने बताएका छन् ।
‘प्रधानमन्त्रीले संसदीय दलको बैठक सरकारी निवास बालुवाटारमा बोलाउनुभएको छ । महाधिवेशन र विधान महाधिवेशनले मात्रै पार्टीको विधान संशोधन गर्ने स्पष्ट प्रावधान हुँदाहुँदै उहाँले फागुन २८ गते विधान संशोधन गरें भन्नुभएको छ । केन्द्रीय कमिटीमा पनि विधानविपरीत मान्छे थपघट र जिम्मेवारी हेरफेर भयो भनिएको छ । यसलाई हामीले कानूनी मान्यताका प्रावधानमाथि भएको प्रहारका रुपमा लिएर प्रतिकार गरेका छौं,’ रावलले भने, ‘संसदीय दलको बैठक पनि संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नुपर्छ, त्यहाँ नबोलाउने हो भने संसद्को गतिविधि हुने अर्को थलो बानेश्वर हो । हाम्रो पार्टीको प्रणालीलाई पनि कमजोर बनाउने भएको हुनाले हामी बालुवाटारको सरकारी निवासमा बोलाइएको बैठकमा सहभागी हुन्न सक्दैनौं ।’ बालुवाटारमा बोलाइएको बैठकमा जाने कि नजाने भन्ने विषयमा छलफल गर्न खनाल–नेपालपक्षीय एमाले स्थायी कमिटी सदस्यहरुको बैठक शुक्रवार बसेको थियो ।
प्रधानमन्त्री ओलीको सरकारी निवासमा ओली वंशावली सार्वजनिक गर्नेदेखि सारंगी रेटेर सुमधुर साँझको आयोजनासम्म गरिएको छ । त्यस्ता कार्यक्रममा हुने खर्चपर्चको हिसाब प्रधानमन्त्री कार्यालय र ओलीको निजी सचिवालयबाट सार्वजनिक भएको छैन । पोहोर साउन र मंसिरमा गम्भीर बिरामी परेका ओलीको गत वर्ष मिर्गौला प्रत्यारोपण गरिएपछि उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर बालुवाटारमा हुने बैठकमाथि आक्कलझुक्कल विमति राखिए पनि कतैबाट गम्भीर प्रश्न उठेको थिएन । तर पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देशव्यापी रुपमा चलेको ओलीको दौडाहाले उनी पूर्णतः तन्दुरुस्त भइसकेको पुष्टि गर्यो । जसले ओलीले मन्त्रिपरिषद् बैठक सिंहदरबार र पार्टीका अरू कार्यक्रम पार्टी कार्यालय वा संसदीय दलको कार्यालय सिंहदरबारमा किन राख्दैनन् भन्ने प्रश्न झन् व्यापक भयो ।
ओलीको यो दोस्रो कार्यकालमा यो प्रश्न पहिलो पटक उठेको भने होइन । यसअघि बालुवाटारमै चलेको स्थायी कमिटी बैठकमै पार्टी गतिविधि प्रधानमन्त्रीको सरकारी निवासमा हुन नहुने भन्दै नेताहरूले विरोध गरेका थिए । त्यसपछि केही बैठक पार्टी कार्यालय धुम्बाराहीमा गरियो । प्रतिनिधिसभा विघटनको निर्णय बदरपछि एमाले ओली पक्षको बैठक प्रधानमन्त्री कार्यालयमै झन् केन्द्रित भएको छ ।
एमाले स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले बैठक बस्ने स्थानभन्दा पनि बैठकको एजेन्डालाई महत्त्व दिनुपर्ने जिकिर गरेका छन् । ‘ठाउँभन्दा पनि मूल कुरा विषय नै हो, कहाँ बैठक बसिन्छ भन्दा पनि बैठकमा कस्ता ईस्यु उठाइन्छ भन्ने कुराले महत्त्व राख्छ,’ नेम्वाङले भने, ‘फेरि प्रधानमन्त्रीज्यूका आफ्नै पनि धेरै काम हुन्छन् । कार्यक्रम हुन्छन्, कतिपय बैठक निवासमै डाकिएका हुन्छन्, ती सबै कुरामा अप्ठ्यारो नपरोस् भनेर बालुवाटारमै बैठक राख्नुभएको हो, अन्यथा होइन ।’
नेता नेम्वाङले शनिवार एमाले संसदीय दलको बैठक र केन्द्रीय कमिटी बैठक बालुवाटारमै तय भएको बताएका छन् ।
ओलीले प्रधानमन्त्री भएको महिना दिन पनि नहुँदै बालुवाटारमा पार्टी नेता र सांसदका लागि भोज आयोजना गरेका थिए । त्यसयता बालुवाटारमा त्यस्ता भोजभतेर दर्जनचोटि भएका छन्, पछिल्लोपटक गत ३ गते भएको चियापान समारोहमा एमालेको अर्को खेमा भने सहभागी भएन । ओलीले आफ्नो जन्म दिनमा बालुवाटारै झिलिमिली पारेर उत्सव मनाउनेदेखि आफ्नो व्यवहारबाट बिच्किएका नेताहरूलाई फकाउन सारंगी साँझसमेत बालुवाटारभित्रै गरेका थिए । ओलीले व्यक्ति हत्याको आरोप लागेका र अदालतमा हाजिर नभई फरार भएका कालीबहादुर खामलाई समेत बालुवाटारभित्रै भेटेका थिए ।
२०६२/६३ को जनआन्दोलन सफल भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि अधिकांश काम सरकारी निवास बालुवाटारबाटै गर्थे । त्यसपछि कांग्रेसकै अर्का सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा कांग्रेसका केही बैठक बालुवाटारमा बसेको उदाहरण छ । ओलीले भने सरकारी निवास बालुवाटारको अचाक्ली दुरुपयोग गरेको राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालको भनाइ छ । ‘हाम्रो सबैभन्दा ठूलो समस्या राज्य शक्तिलाई आफूमा केन्द्रित गर्ने नै भयो ।
चन्द्रशमशेरले पनि प्रशासनिक केन्द्र सिंहदरबारलाई त्यहीँ बस्ने, खाने, षड्यन्त्र गर्ने ठाउँ बनाएका थिए, धन्न निजी सम्पत्ति चाहिँ बनाएनन् । त्यसपछि शासक जहाँ बस्यो अधिकार त्यहीँ हुने भयो । पञ्चायतकालमा सबै अधिकार राजदरबारमा केन्द्रित थियो, अहिले पनि सत्ताको दरबार सिंहदरबार बन्न सकेन,’ उनले भने, ‘गिरिजाप्रसादको हकमा उमेर र स्वास्थ्य कारण बन्न सक्थ्यो होला, त्यसलाई एउटा अपवाद मान्न सकिन्थ्यो होला, अहिले पनि तत्काल केही गरिहाल्नुपर्यो भने इमर्जेन्सी भनेर बुझिन्छ तर नियमित रूपमा बालुवाटारमा शक्ति केन्द्रित हुनु गलत हो । सत्तालाई यसरी व्यक्तिमा केन्द्रित गर्नु लोकतन्त्र होइन, घरायसीतन्त्र हो, जहानियाँतन्त्र हो ।’
ओलीले राष्ट्रपतिलाई बालुवाटार बोलाउनेबाहेक अरू सबै शक्ति सरकारी निवासबाटै सञ्चालन गरेको खनालको मूल्यांकन छ । ‘अहिलेसम्म राष्ट्रपतिबाहेक सबै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्, उनले कुन दिन राष्ट्रपतिलाई पनि बोलाइदिन्छन्, ठेगान छैन,’ खनालले भने, ‘निरंकुश कुनै तन्त्र होइन, व्यक्तिको मानसिकताको कुरा हो ।’
नेकपा एमालेको खनाल–नेपाल पक्षले पनि ओलीले आफूलाई बलशाली देखाउन संसदीय दलको बैठकसमेत बालुवाटारमा राखेको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको हो । बालुवाटारमा हुने गतिविधिको यो पहिलो विरोध नभए पनि ओली पक्षले बालुवाटारमै बैठक बोलाउने र खनाल–नेपाल पक्ष बालुवाटारमा नजाने अडान लम्बिँदै गए एमालेको विवाद बैठकको एजेन्डाभन्दा पर गएर बैठकस्थलमा केन्द्रित हुन पनि सक्छ । यसको संकेत एमालेका दुबै पक्षले गरिसकेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।