काठमाडौं – नयाँ सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा) ले प्रमुख ३ दलसँग छलफल जारी राखेको छ ।
नेकपा एमाले, नेपाली काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपा कुन गठबन्धनमा सहभागी हुने भन्नेमा अनिर्णित रहेको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेर ओली सरकारमै सहभागी हुनुपर्ने पक्षमा छन् । तर जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष ओली इतरको सरकारमा सहभागी हुनुपर्ने अडानमा रहेको जसपा स्रोतले जनाएको छ । जसपामा २ पक्षको फरक–फरक अडानका कारण कुनै निर्णय लिन सकेको छैन ।
हाल जसपाभित्र ठाकुर र महतो पक्ष बलियो अवस्थामा छ । ठाकुर र महतोको पक्षमा ३४ मध्ये २४ सांसद रहेका छन् । सोही कारण पार्टीमा ठाकुर र महतो समूहको प्रस्ताव पारित हुने भएकाले भट्टराई र यादव पक्ष अल्पमतमा पर्ने देखिएका छन् ।
जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, झूटा मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकता विधेयक ल्याउनुपर्ने लगायतका माग गर्दै आएको छ ।
तत्काल रेशम चौधरीलाई रिहा गरेपछि सरकारमा जानेबारे पार्टीले निर्णय गर्ने बताइएको छ । तर जसपा कार्यकारिणी समितिका सदस्य राजकिशोर यादवले रेशम चौधरी सरकारको लेनदेनको विषय बनाउन नहुने बताए ।
शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चौधरी रिहाइको कुरा गर्दा सरकारमा लेनदेनको विषय बनाइनु गलत भएको बताएका छन् ।
यादवले सीके राउत र नेत्रविक्रम चन्द विप्लवसँगजस्तै थरुहट आन्दोलनका आन्दोलनकारीसँग पनि राजनीतिक व्यवहार गर्न माग गरेका छन् । ‘रेशम चौधरी सरकारको लेनदेनको विषय हुनुहुँदैन । त्यो शर्तको रुपमा बुझ्नु हुँदैन । नत्र त्यो राजनीतिक बेइमानी हुन्छ । त्यो राष्ट्रिय समस्या हो, सोहीअनुसार समाधान खोजिनुपर्छ,’ यादवले भने ।
सत्ता समीकरणमा निर्णायक बनेको जसपाभित्र मतभेद चर्किंदो अवस्थामा छ । पार्टी एकीकरण भएको १ वर्ष पुग्नै लाग्दा समेत विवादकै कारण जसपाले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतकका साथै पार्टी एकताका बाँकी काम अझै टुंगो लगाउन सकेको छैन ।
डा. भट्टराई र यादव समूह ओली सरकारलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने अडानमा रहेका छन् । तर ठाकुर र महतो पक्ष पार्टीले उठाउँदै आएको माग सम्बोधन हुने अवस्था आएमा ओली सरकारलाई नै समर्थन गर्नुपर्ने अडानमा रहेका छन् ।
डा. भट्टराई र यादव समूहलाई जानकारी नै नदिई ठाकुर र महतो समूहले एमालेसँग सत्ता सहकार्यका लागि वार्ता समिति बनाइसकेको छ । जसपाबाट नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला वार्ता टोलीमा छन् । एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री समेत रहेका उपमहासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा रहेका छन् ।
वार्ता टोलीको बैठक पटक–पटक भइसकेको छ । यसबीचमा ठाकुरले प्रधानमन्त्री ओलीलाई बालुवाटारमै गएर भेटिसकेका छन् । जसपा स्रोतका अनुसार ठाकुर र महतोले ओली सरकारसँग उधारो सहमति गर्ने पक्षमा छैनन् । उनीहरुले तत्काल सरकारले गर्नुपर्ने माग पूरा गरेपछि मात्रै सरकारमा सहभागी हुने पक्षमा छन् ।
अर्को विकल्पका रुपमा ओली सरकारलाई समर्थन दिने तर सरकारमा सहभागी नहुने पक्षमा समेत ठाकुर र महतो समूहले छलफल गरिरहेको स्रोतले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।