काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किरहेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भोलि शनिबारका लागि संसदीय दल र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
ओलीविरुद्ध संघर्ष गर्दै आएको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले भने ओलीका बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
आज शुक्रबार बानेश्वरमा बसेको नेकपा एमाले स्थायी कमिटी सदस्यहरुको बैठकले भोलिका बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
‘विगतमा संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद भवन बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने,’ स्थायी कमिटी बैठकको निर्णयमा भनिएको छ, ‘बैठक दलको कार्यालय वा संसद भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने ।’
फागुन २८ गते अवैध ढंगले भएका भनिएका निर्णयहरू खारेज नभएसम्म बैठकमा सहभागी नहुने निर्णय समेत बैठकले गरेको छ ।
‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने,’ बैठकको निर्णयमा उल्लेख छ ।
एमालेभित्र विवाद बढेकाले बुधबार र बिहीबार खनाल–नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।