काठमाडौं – नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल समेत फुट्ने भएको छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल पक्षले पार्टीस्तरमा छुट्टाछुट्टै भेला गरिरहेका बेला युवा संगठन पनि फुट्न लागेको हो ।
केही दिनअघि ओली पक्षले वचनबहादुर सिंहको नेतृत्वमा युवासंघ पुनर्गठन गरेको थियो । तर अब खनाल–नेपाल पक्षका युवाले नयाँ नेतृत्व छान्न भोलि चैत्र ७ गते राष्ट्रिय कार्यकर्ताको भेला गर्दैछन् ।
नेपाल पक्षीय युवा संघले आज शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चैत्र ७ गते भोलि राष्ट्रिय सभागृहमा हुने राष्ट्रिय भेलालाई पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले उद्घाटन गर्ने जनाएको छ ।
राष्ट्रिय कार्यकर्ता भेला आयोजक कमिटीका संयोजक नरेश शाहीले चैत्र ७ गते आयोजना गर्ने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको बताए । ‘देशमा विकसित भएको राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने ।
शाहीले सर्वोच्च अदालतको २३ फागुनको निर्णयले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकतालाई खारेज गरेपछि पार्टी र पार्टीका भातृ संगठनका कमिटीहरुमा त्यसको प्रभाव परेको बताएका छन् ।
अदालतको निर्णयले पार्टी र भातृ संगठनलाई २०७५ जेठ ३ गतेभन्दा अगाडि पुर्याएको उनले बताए ।
शाहीले पछिल्लो परिवर्तित अवस्थामा युवा संघलाई पुनर्गठन र सुदृढीकरण गर्नुपर्ने आवश्यकतालाई बोध गर्दै युवासंघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको बताएका छन् ।
भोलि शनिबार हुने भेलामा केन्द्रीय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, जिल्ला तथा महिला विभागका प्रमुख लगायतको पदाधिकारीको सहभागिता हुने संघले जानकारी दिएको छ । भोलिको भेलाबाट नयाँ नेतृत्वबारे विशेष घोषणा हुने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।