आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाल पक्षमा लागे बामदेव गौतम ! केपी ओलीलाई धक्का

माधव नेपाल पक्षमा लागे बामदेव गौतम ! केपी ओलीलाई धक्का

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ६ २०७७

  • 7.2K
    SHARES

  • माधव नेपाल पक्षमा लागे बामदेव गौतम ! केपी ओलीलाई धक्का

    काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएका बेला गुटगत भेला जारी रहेका छन्् ।

    हिजो बिहीबारसम्म राष्ट्रिय कार्यकर्ता भेला गरेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले आज शुक्रबार अखिल नेपाल किसान महासंघको कार्यक्रम गर्दैछ ।

    नेपाल पक्षले नै आज शुक्रबारदेखि प्रादेशिक तथा वर्गीय संगठनको भेला आयोजना गरेको छ ।

    धोबीघाटस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजना हुने भेलालाई एमाले उपाध्यक्ष तथा किसान महासंघका अध्यक्ष बामदेव गौतमले सम्बोधन गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । यसअघि कुनै पनि पक्षमा नखुलेका उपाध्यक्ष गौतम आज पहिलोपटक नेपाल पक्षको भेलामा सहभागी हुँदैछन्् ।

    पार्टी फुटको संघारमा पुगेको बेला एकता अभियान सञ्चालन गरिरहेका गौतमको उपस्थितमा हुने भनिएको भेलालाई चासोका साथ हेरिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई आफ्नो पक्षमा पार्न धेरै प्रयास गरेका थिए । बिहीबार बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा समेत गौतम गएका थिएनन् ।

    यसैबीच, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खनाल–माधवकुमार नेपाल पक्षधर सांसदलाई कारवाहीको वैधानिक आधार तयार गर्न सजिलो होस् भन्ने उद्देश्यले संसदीय बोर्ड र संसदीय दलको विधान संशोधन कार्यदल गठन गरेका छन्् ।

    खनाल–नेपाल पक्षले ओलीका कदमविरुद्ध राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेका बेला बिहीवार बालुवाटारमा संसदीय दलको बैठक राखेर ओली दल भित्रको आफ्नो कानूनी आधार मजबुत बनाउने उपायतर्फ लागेका हुन् ।

    बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले बताएका छन् । ‘२४ जनाको नाम बैठकमा प्रस्तुत भइसक्यो,’ उनले भने । खनाल–नेपाल पक्षका सांसद अनुपस्थित रहेको बैठकबाट ओलीले संसदीय बोर्डमा वरिष्ठ नेताहरु खनाल र नेपालको नाम पनि राखेका छन्् । 

    संसदीय दलको विधानअनुसार बोर्ड गठन गरिएको सांसद तामाङले बताएका छन्् । कुनै पनि सांसदले ह्वीप उल्लंघन गरेको अवस्थामा सांसद पदबाट पार्टीले कारवाही गर्नसक्ने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐनमा छ । ऐनको व्यवस्था कार्यान्वयन गर्नका लागि संसदीय दलले ह्वीप उल्लंघन गरेको विषयमा निर्णय गरी पार्टीको केन्द्रीय कमिटीमा पठाउनुपर्छ ।

    त्यसरी केन्द्रीय कमिटीमा कारवाही लगायतका निर्णय गर्नका लागि संसदीय बोर्ड आवश्यक पर्छ । त्यसैले ओलीले खनाल–नेपाल पक्षको बहिष्कारका बाबजुद आफू पक्षका बहुमत सांसदको उपस्थितिमा बिहीवार बोर्ड गठन र विधान संशोधन कार्यदल बनाएका छन्् । एमालेको संसदीय दलमा ओलीको पक्षमा खनाल–नेपाल पक्षका भन्दा करीब दोब्बर सांसद छन् ।

    नेकपा एमालेको २०७२ सालमा बनेको विधान भएकाले विधान संशोधन गर्न लागिएको तामाङले बताएका छन् । विधान संशोधन गर्न मुख्य सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला पौड्याल राईलाई जिम्मेवारी दिइएको छ । ‘अनुशासनविपरीत काम गरेमा के कारबाही गर्ने भन्ने व्यवस्था पनि विधानमा समेटिन्छ,’ उनले भने । कार्यदललाई शनिवार बस्ने दलको बैठकमा संशोधन प्रस्ताव सहितको प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

    प्रधानमन्त्री ओलीले बैठकमा अराजक ढंगमा प्रस्तुत हुनेलाई कारबाही गर्न कानून सक्रिय रहेको बताएका थिए । ‘कसैलाई अराजक ढंगमा प्रस्तुत हुन छुट छैन, अराजकतालाई कारबाही गर्न कानून छ, नियम छ, त्यहीअनुसार सजाय पनि हुन्छ,’ ओलीको भनाइ उदृत गर्दै सचेतक शान्ता चौधरीले भनिन् ।

    खनाल–नेपाल समूहमा गएका सांसदलाई आत्मालोचना गरेर आएमा स्वागत गर्ने ओलीले बैठकमा बताएका छन् ।

    ‘अब हुनसक्ने खतरालाई मध्यनजर गरेर संसदीय दलको बैठकले कानूनी आधार तय गर्नेछ,’ चौधरीले भनिन्, ‘त्यतिखेर कानूनमा भएको व्यवस्था कार्यान्वयन हुन पनि सक्छ ।’

    मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलको बैठक छल्नेहरुलाई नोटिस गरिएको बताएका छन् । ‘बैठकमा नआउने २ कारण हुन्छ । एउटा व्यावहारिक, अर्को चाहिँ योजनाबद्ध गुटबन्दी । गुटबन्दी गरेर नआउनु गम्भीर अपराध हो,’ भट्टराईले भने, ‘यसलाई हामीले नोटिस चाहिँ गर्छौं ।’

    ओली पक्षले यसरी एकपक्षीय ढंगले गरेको बोर्ड गठन, विधान संशोधन लगायतको निर्णयले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा पनि भत्काउने नेपाल पक्षका सांसद गोकर्ण विष्टले बताएका छन् । ‘संसदीय दल सम्बन्धी विधान बनेकै छैन, नबनेको अवस्थामा संशोधन कसरी हुन्छ ? एकपक्षीय बैठकले बोर्ड गठन र विधानको काम हुँदा पार्टी एकतालाई बलियो बनाउँदैन, सही विधि–विधानको अभ्यासले मात्रै पार्टीलाई बलियो बनाउँछ,’ विष्टले भने । मुख्य सचेतक भट्टराईले विधान संशोधन र बोर्ड गठन नियमित प्रक्रिया भएकाले कुनै आशंका नगर्न आग्रह गरेका छन् ।

    बालुवाटारमा सम्पन्न नेकपा एमालेको संसदीय दल बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले बताए । ‘संसदीय दलको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र अटेर गर्नेलाई विधानअनुसार कारवाही गर्ने निर्णय गरेको छ,’ बस्नेतले भने, ‘पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न पनि सांसदहरुलाई सचेत गराउने निर्णय भएको छ ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend