आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कारवाही गर्ने केपी ओलीको धम्कीपछि माधव नेपालको यस्तो ‘काउन्टर’

कारवाही गर्ने केपी ओलीको धम्कीपछि माधव नेपालको यस्तो ‘काउन्टर’

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ६ २०७७

  • 4.0K
    SHARES

  • कारवाही गर्ने केपी ओलीको धम्कीपछि माधव नेपालको यस्तो ‘काउन्टर’

    काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीका सबै कमिटी र संगठन ब्यूँताउने निर्णय गरेको छ ।

    बिहीवार सकिएको २ दिने राष्ट्रिय कार्यकर्ता भेलाले माओवादी केन्द्रसँगको एकतापूर्वको पार्टी कमिटी ब्यूँताएर अघि बढ्ने निर्णय गरेको छ ।

    भेलाले १७ बुँदे घोषणापत्र जारी गर्दै फागुन २८ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आफू पक्षधर केन्द्रीय कमिटीका सबै निर्णय रद्द गर्न माग गरेको छ । वरिष्ठ नेता नेपालले भेलालाई सम्बोधन गर्दै आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका थिए ।

    ‘मुन्ट्याएरै निकाल्न खोजेछन् भने पनि अन्तिम दमसम्म लड्छौं,’ नेता नेपालले भनेका छन् । स्थानीय जनप्रतिनिधिलाई पनि कारबाहीको धम्की दिइएको नेपालले बताएका छन् । ‘हटाउने हो भने हामीलाई हटाएर देखाऊन् । हामी तयार छौं,’ उनले भने ।

    उपमहासचिव घनश्याम भुसालले जनसंगठन र पार्टी कमिटी जेठ २ गतेपूर्वकै अवस्थामा फर्काइने घोषणा गरेका छन् । ‘पार्टीका धेरै कमिटीमा हाम्रै साथीहरू हुनुहुन्छ। हामी आधिकारिक हौं, उनीहरु (ओली पक्ष) समानान्तर हुन्, गुटबन्दी हुन्,’ नेता भुसालले भनेका छन् ।

    नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो । अदालतको आदेशपछि पार्टीका सबै कमिटी, सम्बद्ध जनसंगठन र पेशागत संगठन लगायत सबै संरचना माओवादी केन्द्रसँगको एकीकरणपूर्वको स्थितिबाट विधिसम्मत सञ्चालन र क्रियाशील तुल्याउनु कानूनसम्मत र पद्धतिसम्मत हुने भेलाको निष्कर्ष छ ।

    ‘पार्टीलाई विधान, विधि र पद्धतिअनुरुप सञ्चालन गरेर मात्र नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउन सकिन्छ,’ घोषणा पत्रमा उल्लेख छ, ‘यसलाई क्षतविक्षत तुल्याउँदै राष्ट्रिय स्वाधीनतालाई समेत कमजोर बनाउने सबै प्रकारका षड्यन्त्रलाई विफल गर्दै नेकपा एमालेलाई एकताबद्ध र सुदृढ बनाउन सकिन्छ ।’

    सचिव योगेश भट्टराईले जेठ २ पूर्वका कमिटीमाथि प्रधानमन्त्री ओलीले षड्यन्त्र गरिरहेको आरोप लगाउँदै त्यसलाई मान्यता नदिने बताएका छन् ।

    भेलाले एमालेको एकता जोगाउन अध्यक्ष ओलीले फागुन २८ गते एकपक्षीय रूपमा गरेका केन्द्रीय कमिटीका निर्णय रद्द गर्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल–खनाल पक्षलाई जानकारी नदिई महासचिव बाहेक पार्टीका अरु पदाधिकारी हटाउने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र माओवादी केन्द्रमा नफर्केका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय भएको थियो ।

    ‘यसप्रकारको कार्य सर्वोच्च अदालतको फैसलाको मर्मविपरीत तथा नेकपा एमालेको एकतामा भाँजो हाली पार्टीलाई विभाजन गर्दै अन्ततः नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर तुल्याउने र विसर्जन गर्नेतर्फ परिलक्षित रहेको छर्लंगै छ,’ घोषणा पत्रमा लेखिएको छ, ‘अतः पार्टी विधान, पद्धति र नेकपा एमालेको सिद्धान्त, नीति र अभ्यासविपरीत अध्यक्ष पदमा रहनुभएका केपी शर्मा ओलीको तर्फबाट भएका कथित निर्णय र कामलाई यो भेला पूर्णतः अस्वीकार गर्दछ ।’

    फागुन २८ गतेका निर्णय सच्याएर स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन भेलाले पार्टी अध्यक्ष ओलीसँग आग्रह गरेको छ ।

    नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता भंग गर्ने सर्वोच्च अदालतको निर्णयप्रति भेलाले असहमति जनाएको छ । एकीकृत, सशक्त र सुदृढ कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्य साथ गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई षड्यन्त्रमूलक किसिमले छिन्नभिन्न पारिएको भेलाको निष्कर्ष निकालेको छ ।

    ‘नेकपा एमालेलाई समेत फुटाई नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्ने र नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानलाई नै कमजोर तुल्याउने देशी, विदेशी प्रतिक्रियावादीको षड्यन्त्रको भत्र्सना गर्दै,’ घोषणा पत्रमा उल्लेख छ, ‘त्यस्तो षड्यन्त्रलाई विफल तुल्याई राष्ट्रको अस्मिता तथा कम्युनिस्ट आन्दोलनको भविष्य सुरक्षित गर्न एकता र दृढतासाथ अग्रसर हुन नेकपा एमाले पार्टी पंक्तिका साथै सम्पूर्ण देशभक्त तथा वामपन्थी शक्तिलाई यो भेला हार्दिक आह्वान गर्दछ ।’  

    ओलीको गुटबन्दीबाट भएका र हुन सक्ने पार्टी विधान, पार्टी एकता र राष्ट्रिय हित प्रतिकुलका कुनै पनि काम कारवाहीविरुद्ध दृढतासाथ अग्रसर हुन भेलाले आह्वान गरेको छ । भेलामा उपस्थित नहुन प्रधानमन्त्रीबाट धम्की दिइएको र त्यसलाई अस्वीकार गरिएको घोषणा पत्रमा उल्लेख छ । भेलामा देशभरका ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend