काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज बिहीबार बिबहान ११ बजे सांसदहरूको आकस्मिक बैठक बोलाएको छ ।
कार्यकर्ता भेला भइरहेको स्थान ललितपुरको होटल हेरिटेज रिसोर्टमा सांसदहरूको बैठक बोलाइएको नेपाल पक्षका नेता विष्णु रिजालले बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजै समयमा बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् । जसमा नेपाल पक्षका सांसदलाई समेत खबर गरिएको छ ।
अध्यक्ष ओलीले संसदीय दलको बैठकबाट नेपाल पक्षलाई गुटगत भेलाको आरोप लगाउँदै कारवाही प्रक्रिया अघि बढाउने अनुमान गरिएका बेला नेपाल पक्षले छुट्टै बैठक बोलाएको छ ।
यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितलाई कारवाही गर्ने तयारी गरेको छ । आफू र महासचिव ईश्वर पोखरेलले छुट्टै राष्ट्रिय भेला नगर्न आग्रह गर्दागर्दै पनि गरेर पार्टीमा चरम गुटबन्दी गराएको भन्दै ओलीले प्रक्रियाअनुसार कारवाही गर्ने चेतावनी दिइसकेका छन् ।
‘हामीले कारवाही गर्नै पर्दैन, नियम कानूनअनुसार कारवाही हुन्छ,’ ओलीपक्षीय एक नेताले भने, ‘सांसद पदबाट हटाउने वा पार्टीबाट पनि हटाउने भन्नेबारे परिस्थिति हेरेर निर्णय हुन्छ ।’
अध्यक्ष ओलीले आज बिहीबार ११ बजे संसदीय दलको बैठक राखेका छन् । बैठकमा खनाल–नेपाल पक्षका सांसद सहभागी नहुने भएका छन् ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कारवाही गर्न सकिने भएपनि प्रक्रिया लामो रहेको छ । संसदीय दलको ह्वीप उल्लंघन गरेमा केन्द्रीय कमिटीको बहुमतले मात्रै जनप्रतिनिधिलाई कारवाही गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ ।
खनाल–नेपाल पक्षको भेलामा सहभागी सबै व्यक्तिलाई कारवाही नभई नेतृत्व र अगुवाई गरिरहेका व्यक्तिलाई छानीछानी कारवाही हुने स्रोतले जनाएको छ ।
‘राष्ट्रिय भेलामा उपस्थित सबैलाई कारवाही गर्ने भन्ने हुँदैन तर जसले नेतृत्व गरेको छ । जसले बोलाएको छ, उसलाई नियमअनुसार कारवाही हुन्छ,’ ती नेताले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।